ऊर्जामन्त्री भुसालसँग क्यानाडाका राजदूतको शिष्टाचार भेट

पालिका डायरी
२९ चैत्र २०७८, १५:३६
ऊर्जामन्त्री भुसालसँग क्यानाडाका राजदूतको शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि क्यानाडाका नवनियुक्त राजदूत क्यामरुन डिन मकाईले शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच दुई देशबीच रहीआएको आपसी सम्बन्ध र सहयोगका विविधि विषयमा छलफल भएको छ।

 

अवसरमा ऊर्जामन्त्री भुसालले विगतमा क्यानाडाले नागरिक उडड्यन, ग्रामीण तथा पर्वतीय विकास, नवीकरणीय ऊर्जा एवं खाद्य सुरक्षाजस्ता क्षेत्रमा पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन्।

उनले क्यानाडामा ठूलो संख्यामा नेपालीको बसोबास रहेको उल्लेख गर्दै जनस्तरीय एवं सांस्कृतिक सम्बन्ध दुई देशबीचको महत्त्वपूर्ण पाटो भएको स्मरण गरिन्।

 

नेपालले स्वच्छ ऊर्जाको विकास र व्यापारलाई प्रवर्द्धन गरिरहेको अवस्थामा क्यानडाले आर्थिक एवं प्रविधिक रुपमा सहयोग गर्न सक्ने उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, ‘विद्युत खपतका लागि हाल प्रयोग हुँदै आएको पेट्रोलियम सार्वजनिक सवारी साधनलाई विद्युतीय साधनमा रुपान्तरण गर्दैछौँ। विद्युतीय ऊर्जा प्रयोग गरेर रसायनिक मल उत्पादन कम्पनी स्थापना गर्न चाहन्छौँ। यी क्षेत्रमा क्यानाडाले आर्थिक तथा प्राविधिक सहयोग गर्न सक्छ।’

त्यस अवसरमा राजदूत मकाईले स्वच्छ ऊर्जाको विकासमा नेपालले प्रशंसनीय काम गरिरहेको उल्लेख गर्दै आफ्नो देशको सरकारी एवं निजी क्षेत्रले सहकार्य गरेर नेपालमा आवश्यक पर्ने प्राविधिक सहकार्य गर्ने बताए।

 

क्यानाडाका निजी क्षेत्रले नेपालका निजी क्षेत्रसँग सहकार्य गर्ने उचित वातावरण सिर्जना गर्न आफूले पहल गर्ने उनले विश्वास दिलाए।

प्रतिक्रिया