माओवादीद्वारा निर्वाचन केन्द्रित पाँच बुँदे सर्कुलर जारी

पालिका डायरी
२९ चैत्र २०७८, १३:३०
माओवादीद्वारा निर्वाचन केन्द्रित पाँच बुँदे सर्कुलर जारी

काठमाडौं /  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह निर्वाचन केन्द्रित ५ बुँदे विशेष सर्कुलर जारी गर्नुभएको छ ।

केन्द्रीय कार्यालयको तर्फबाट अध्यक्ष दाहालले स्थानीय तहका उम्मेदवार छनौटका लागि आवश्यक विधि र प्रक्रिया अबलम्वनका लागि मातहतका कमिटीमा सर्कुलर पठाउनुभएको हो । सर्कुलरमा पार्टीको तर्फबाट स्थानीय तहमा उम्मेदवार हुनेहरुको नाम वैशाख ५ गतेभित्र सिफारिस गरिसक्न भनिएको छ ।

त्यस्तै स्थानीय तहमा केन्द्रको स्वीकृतिबिना आफूखुशी गठबन्धन तोड्न रोक लगाइएको छ । बरु गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड गर्न मातहतका कमिटीलाई भनिएको छ । ‘गठबन्धनकै दलहरुबीच स्वस्थ प्रतिष्पर्धा गर्नुपर्ने अवस्था आएमा केन्द्रको स्वीकृति लिई गर्नुपर्ने सर्कुलरमा उल्लेख छ । माओवादीले महानगर र उपमहानगर क्षेत्रबाट बढीमा ३ जना उम्मेदवारको नाम मागेको छ ।

सर्कुलर अनुसार प्रदेश समितिहरुले सर्वसम्मत भए एक–एक जना र नभए प्राथमिकताका क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेश गर्नुपर्ने भनिएको छ । त्यस्तै नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षहरूको सिफारिस सम्बन्धित पालिका समितिहरुले गर्नुपर्ने छ भने त्यस्तो सिफारिस सम्बन्धित जिल्ला समन्वय समितिहरूको सुझावसहित प्रदेश समितिले उम्मेदवारको अन्तिम टुंगो लगाउने छ ।

त्यसपछि निर्णयलाई केन्द्रीय कार्यालयबाट अनुमोदन गराउनुपर्नेछ । त्यस्तै वडा अध्यक्ष र सदस्यहरुको हकमा सम्बन्धित पार्टी वडा समितिको सिफारिसमा पालिका समितिले निर्णय गर्नेछ भने प्रदेश समितिले अनुमोदन गर्ने छ ।

चुनावमा सत्तारुढ दलहरुबीच गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड दिन पनि माओवादीले निर्देशन दिएको छ । यसैगरी माओवादी केन्द्रले स्थानीय तहमा उपमेयरलाई सीमित नगर्नका लागि महिलालाई प्रमुख भूमिकामा नै अघि बढाउने निर्णय गरेको छ ।

माओवादीले प्रत्येक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्षमा महिला अनिवार्य गर्न सर्कुलरमा उल्लेख गरिएकाे छ ।

प्रतिक्रिया