भरतपुरको मेयरका लागि कांग्रेस चितवनले दबाब बढाउँदै

पालिका डायरी
२४ चैत्र २०७८, १३:२६
भरतपुरको मेयरका लागि कांग्रेस चितवनले दबाब बढाउँदै

हेटाैंडा /  भरतपुर महानगरपालिकाको प्रमुख पदको उम्मेदवारका लागि नेपाली कांग्रेस चितवनले दबाब बढाउँदै लगेको छ ।

महानगर प्रमुखको उम्मेदवार कुन दलको हुने भनेर सत्ता गठबन्धनमा बहस चलिरहँदा चितवन कांग्रेसका नेताहरूले केन्द्रीयस्तरमा आफ्ना नेताहरूमाथि दबाब बढाउन थालेका हुन् ।

चितवन कांग्रेस सभापतिसहितका नेताहरूले बिहीबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर भरतपुर महानगरको प्रमुख कांग्रेसले नछाड्ने बताएका छन् । स्थानीय स्तरको आवश्यकता र औचित्यका आधारमा पनि भरतपुर कांग्रेसले पाउनुपर्ने भन्दै उनीहरूले कुनै पनि हालतमा छाड्न नसकिने बताएका छन् ।

वरिष्ठ नेता पौडेल सत्ता गठबन्धनको स्थानीय तहको निर्वाचनका लागि तयारी तथा अनुगमन समितिको संयोजकसमेत हुन् । वरिष्ठ नेतालाई भेटेर केन्द्रीय समितिको निर्णयअनुसार नै भरतपुरको मेयर कांग्रेसले पाउनुपर्ने र यो नै अन्तिम बटमलाइन भएको कुरा सुनाएको चितवन कांग्रेसका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले बताए ।

‘उहाँले यसलाई गम्भीर रूपमा लिएको छु भन्नुभयो । चितवनको सन्दर्भमा धेरै जानकार पनि राख्छु र यसलाई अन्य दलसँग पनि परामर्श गर्छु । पार्टी सभापतिसँग पनि परामर्श गर्छु भन्नुभएको छ’, श्रेष्ठले भने ।

पौडेलसँगको भेटपछि चितवन कांग्रेसका नेताहरूले पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवालाई भेट्दै छन् । देउवालाई पनि भेटेर चितवन कांग्रेसले गरेको निर्णयबारे जानकारी गराइने श्रेष्ठले बताए ।

जिल्लाका सातवटै पालिकामा सत्ता गठबन्धनका दलहरूबीच तालमेलका लागि संयन्त्र बनाएर छलफल भइरहेको छ ।

महानगर प्रमुख कांग्रेसले पाउनेगरी तालमेल गर्ने पक्षमा चितवन कांग्रेस छ । माओवादी केन्द्र पनि महानगर प्रमुख आफैले पाउने गरी तालमेल गर्ने बताइरहेको छ ।

प्रतिक्रिया