किन युवतीहरु हजुरबा उमेरका विदेशीसँग विवाह गर्न हुरुक्क ?
पछिल्लो दुई महिनामा राजधानीमा मात्रै बीस वर्षभन्दा धेरै उमेर अन्तरका एक दर्जन जोडीले विवाह गरेका छन् । सर्लाहीको बागमती नगरपालिकाकी २० वर्षीया तामाङ थरकी युवतीले ५४ वर्षे अमेरिकीसँग हालै विवाह गरिन् । उनीहरुले गत माघ १४ गते काठमाडौं जिल्ला अदालतमा कागजी विवाह गरेका हुन् ।
यस्तै झापा,दमकका २७ वर्षीय एक युवाले गत माघमा ४८ वर्षीया अष्ट्रेलियन महिलासँग विवाह गरेका छन् । काठमाडौं सिनामंगलकी एक युवतीले आफूभन्दा १५ वर्ष पाको उमरेका इजरायली नागरिकसँग लगनगाँठो कसेकी छन् । उता महोत्तरीको बर्दिबासकी एक दलित युवतीले तीन गुणा बढी उमेरका ६१ वर्षे क्यानेडियन नागरिकसँग विवाह गरेकी छन् भने लमजुङकी ३५ वर्षीया महिलाले ६५ वर्षका स्पेनिससँग घरजम बसाउने अठोट गरेकी हुन् ।
पछिल्लो समय विदेशी नागरिकसँग विवाह गर्ने नेपालीको संख्या बढ्दै गएको छ । तर त्यसमा उमेर अन्तर निकै धेरै पाइन्छ । यस्तो उमेर अन्तरमा विवाह गर्ने नेपाली दम्पत्ति निकै कम पाइन्छ ।
बूढो उमेरका विदेशीसँग विवाह गर्नेमा नेपाली महिला धेरै देखिए । पछिल्लो दुई महिनामा मात्रै २० वर्षभन्दा बढी उमेर अन्तरका विदेशीसँग झण्डै एक दर्जन जोडीको विवाह भएको छ । त्यसमा पुरुषभन्दा महिला बढी देखिएका हुन् । ५० वर्षभन्दा माथिका विदेशीसँग भर्खरका नेपालीमध्ये काठमाडौं जिल्ला अदालतमा १० जनाले विवाह दर्ता गरेका हुन् ।
गत २०७५ भदौमा मुलुकी देवानीसंहिता लागु भएपछि जिल्ला अदालतमा विवाह दर्ता हुनेको संख्या ह्वात्तै बढेको हो । त्यसअघि विवाह दर्ता जिल्ला प्रशासन कार्यालयमा मात्र हुने गर्दथ्यो । गत पुस र माघ दुई महिनामा तीन सयभन्दा बढी जोडीले काठमाडौं जिल्ला अदालत पुगेर कानुनी विवाह गरेका छन् ।
तीमध्ये विदेशीसँग विवाह गर्ने ४० जना छन् । जसमा नेपाली पुरुषभन्दा महिला धेरै पाइएको हो । नेपालीले सबैभन्दा बढी अमेरिकी, त्यसपछि चिनियाँ र बेलायतीसँग जीवन बिताउने संकल्प गरेको देखिन्छ । पछिल्लो दुई महिनामा काठमाडौं जिल्ला अदालतमा १० जना नेपालीले अमेरिकी नागरिकसँग विवाह गरेका छन् । तिनले चिनियाँ र बेलायतीसँग पाँच पाँच जना र बाँकी भारतीय,श्रीलंकन, फिलिपिनोलगायत विदेशीसँग विवाह गरेका हुन् ।
देवानी संहिताको तेस्रो भागमा रहेका पारिवारिक कानुनअन्तर्गत विवाहसँग सम्बन्धित व्यवस्था छ । जसको दफा ७ मा विदेशी नागरिकले नेपालीसँग विवाह गर्दा आवश्यक पर्ने कागजातको पनि व्याख्या गरिएको छ । सो व्याख्यामा सम्बन्धित देशको दूतावासले जारी गरेको नो अब्जेक्सन लेटर,उक्त देशमा विवाहसम्बन्धी व्यवस्थावारे कानुनको नेपाली अनुवाद,नेपालमा १५ दिन बसेको प्रमाण र त्यसबारे सम्बन्धित क्षेत्रको स्थानीय तहबाट भएको सिफारिस आवश्यक पर्दछ ।
समाजशास्त्रीहरुका अनुसार यस्तो विवाह पछिल्लो दिन अमेरिका र युरोप छिर्नको लागि पेपर म्यारिजमा सीमित भएको धेरै पाइएको छ । प्रहरी प्रशासनले पनि विवाहको नाटक गरेर विदेशिनेहरु धेरै रहेको बताएको छ । अदालतका कर्मचारीले समेत समाजशास्त्री र प्रहरी प्रशासनको भन्दा फरक धारणा राखेको पाइएन ।
काठमाडौं जिल्ला अदालतका एक जना कर्मचारीले भने, ‘कुरो सबै थाहा छ तर सबै कागजात पुर्याएर आएपछि अस्वाभाविक हो भन्ने थाहा पाउँदा पाउँदै पनि विवाह दर्ता गरिदिनुपर्ने बाध्यता छ ।’ नाम नछाप्ने शर्तमा एक जना न्यायाधीशले जनआस्थासँगको कुराकानीमा, ‘भर्खरकी युवतीले छाला चाउरिन थालेको ६५ वर्ष नाघेको हजुरबा उमेरका विदेशीसँग विवाह गर्नुको पछाडिको कारण विदेशमा आर्थिक सम्पन्नतामा जीवन बिताउने अभिलाषाबाहेक अरु केही होइन । एकाध वर्षमा श्रीमान स्वर्गवास हुने आशमा उनीहरुले त्यस्तो जोखिम मोलेको धेरै वटा घटनाले प्रमाणित गरेको,’ बताए ।



