व्यवसायीद्वारा अमलेखगञ्जमा पेट्रोलियम पदार्थको ढुवानी ठप्प

पालिका डायरी
१९ चैत्र २०७८, १२:२२
व्यवसायीद्वारा अमलेखगञ्जमा पेट्रोलियम पदार्थको ढुवानी ठप्प

हेटौंडा / पेट्रोलियम पदार्थको बिक्रीबापतको कमिसनको रकम नपाएको भन्दै आयल निगम अमलेखगञ्जका ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेका छन् ।

पेट्रोलको ढुवानी ठप्प हुँदा तीनवटा प्रदेशका उपभोक्ता प्रभावित भएका छन् । निगमको अमलेखगञ्ज डिपोले भारतको बरौनीबाट दैनिक २५ देखि ४० ट्यांकर पेट्रोल आयात गर्दै आएको छ । पेट्रोलियम पदार्थ बागमती, गण्डकी र मधेस प्रदेशका अधिकांश जिल्ला ढुवानी हुने गर्छ ।

हडतालले तीनवटै प्रदेशका उपभोक्ताहरू मारमा परेका छन् । नेपाल आयल निगमले तेल बिक्रेताहरूलाई कुल बिक्रीको ३ प्रतिशत रकम कमिसन बापत दिँदै आएको थियो । पछिल्लो समय लगातारको मूल्यवृद्धिका कारण निगमले पेट्रोलियम पदार्थमा दिँदै आएको कमिसन फागुन १९ गतेदेखि कटौती गरेको थियो ।

कमिसन बापतको रकम कटौती गरेपछि राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले ढुवानी ठप्प पारेको हो । नेपाल आयल निगम अमलेखगञ्जका डिपो प्रमुख प्रदीप यादवले रुस–युक्रेन युद्धका कारण विश्व बजारमा कच्चा तेलको मूल्य बढेकाले नेपाली उपभोक्तालाई मूल्यवृद्धिबाट बचाउन डिलरलाई दिनुपर्ने कमिसन रोकिएको बताउनुभयो । ढुवानीमा समस्या भएका कारण गाडीहरू एउटा पनि लोड भएका छैनन् ।

पेट्रोलियम बिक्रेताले प्रतिशतमा पाउँदै आएको कमिसन गत फागुन १९ गतेबाट स्थगन गरिएकोमा सोही मितिबाट लागू हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया