मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण गर्न पानी पठाइयो, मर्मत अन्तिम चरणमा

पालिका डायरी
१८ चैत्र २०७८, १७:३०

बाढीपहिरोले क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाको मर्मत अन्तिम चरणमा पुगेको छ । मुख्य संरचनाको मर्मत र सफाइ अन्तिम चरणमा पुगेसँगै सुरुङ परीक्षणका लागि पानी पठाउन सुरु गरिएको आयोजनाले जनाएको छ ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले हिजो मेलम्चीको मुख्य प्रवेशमा क्षमापूजा गरेपछि परीक्षणका लागि पानी पठाइएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर माधवप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँले आयोजनाको मुख्य ढोका खोलिएको र सफाइको काम अन्तिम चरणमा पुगेकाले परीक्षणका लागि पानी पठाउन थालिएको जानकारी दिनुभयो ।

गएको असार १ र साउन १७ गतेको बाढीका कारण प्रमुखद्वार बफर ड्यामदेखि अम्बाथानसम्मको ८ सय ५ मिटर सुरुङ गेग्य्रानसहितको लेदोले पुरेको थियो । क्षतिग्रस्त ढोकाहरू खुला गरी सुरुङभित्र जमेको लेदो परीक्षणका क्रममा पठाएको पानीबाटै सफाइ गरिने आयोजनाले जनाएको छ । सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना सफाइ तथा मर्मत गरी यही चैत मसान्तभित्र काठमाण्डौको सुन्दरीजलमार्फत उपत्यकामा पानी वितरण गर्ने लक्ष्य लिएको छ ।

आयोजनाको सुरुङ निर्माण गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रोले सफाइ तथा मर्मतको काम तोकिएको समयभित्र पूरा गर्न अन्य तीनवटा नेपाली सहायक कम्पनीमार्फत २४ घण्टा नै काम गरिरहेको छ ।

प्रतिक्रिया