नेपालले पपुवा न्युगिनीलाई सजिलै हरायाे, कुशल र आरिफकाे अर्धशतक

पालिका डायरी
८ चैत्र २०७८, १८:४९
नेपाललाई पीएनजीले दियाे १ सय ७४ रनकाे लक्ष्य

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) सँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल सात विकेटले विजयी भएकाे छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएकाे एक सय ७४ रनकाे लक्ष्य नेपालले ३७ ओभरमा मात्र तीन विकेट गुमाएर भेटायाे । नेपालका लागि आरिफ शेखले सर्वाधिक ५९ रन बनाए । यस्तै कुशल भुर्तेलले ५०, राेहित पाैडेलले ४४, आशिफ शेखले दुई बनाउँदा दीपेन्द्रसिंह ऐरीले शून्यमै आउट भए । बलिङतर्फ पीएनजीका चार्ल्स अमिनीले दुई र कबुवा माेरेले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर एक सय ७३ रन बनायाे । पीएनजीका लागि कप्तान असाद भालाले सर्वाधिक ४५ रन बनाए । यस्तै चार साेपरले २२ र लेगा सिकाले २० रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले दुई/दुई तथा करण केसी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले एक/एक विकेट लिए ।

यो शृङ्खलामा नेपालले पहिलो खेलमा पीएनजीलाई हराएको थियो भने यूएईसँग दुवै खेलमा पराजित भएको थियाे । विश्व क्रिकेट लिग–२ मा १२ खेलमा १२ अङ्कसहित नेपाल छैटाैँ स्थानमा छ । यूएई दोस्रो र पीएनजी पुछारमा रहेको छ । लिगमा नेपाल र स्कटल्यान्डले सबैभन्दा कम खेल खेलेका छन् ।

प्रतिक्रिया