चुनाव जित्न जनताको घरमै गएर सुखदुखमा सारिक हुनपर्छ : प्रकाशमान सिंह

पालिका डायरी
७ चैत्र २०७८, २०:१०
चुनाव जित्न जनताको घरमै गएर सुखदुखमा सारिक हुनपर्छ ः प्रकाशमान सिंह

हेटाैंडा /  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले आसन्न स्थानीय तह निर्वाचनमा मतदाताको घरघरमा गएर सुखदुखमा सारिक हुनसक्नु पर्ने बताए ।

सोमबार नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको हेटौंडास्थित कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता सिंहले मतदाताको घर–घरमा पुगेर उनीहरुको सुखदुखमा सरिक हुँदै आवश्यक सुझावसमेत संकलन गर्न सकेमात्रै जनताको विश्वास र मत दुवै प्राप्त हुने बताएकाहुन् ।

‘स्थानीय निर्वाचन नजिकिएको छ । हामी जनताको घर आँगनमा पुग्न सकेका छौँ कि छैनौँ भन्ने कुरा बेलैमा मनन गर्नुपर्ने बताए । उनले भने  म राम्रो उम्मेदवार हुँ मैले जितिहाल्छु भनेर बसेर हुँदैन है, जनताको बीचमा पुग्न सक्नुपर्छ । उनीहरुको अवस्था कस्तो छ, जनताको हामीप्रति असन्तुष्टिहरु छन् कि, कांग्रेसले सुधार्नुपर्ने पो केही छ कि लगाएतका विषयमा गम्भीर हुनु आवश्यक छ ।’ ‘पार्टीको आन्तरिक सुझाव अनुसार नै अघि बढ्ने हो । गठबन्धन हुने नहुने वा आवश्यकता अनुसार हुने भन्ने विषय केही दिनभित्रै केन्द्रीय कार्यसम्पादन समितिले टुंगोमा पुर्याउँछ, सिंहले भने ।’

कार्यक्रममा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले प्रदेश कार्यसमिति कांग्रेसलाई जनताप्रति अझै जवाफदेही र जिम्मेवार बनाउन सक्रिय ढंगबाट अघि बढिरहेको बताए । उनले कांग्रेस नेपाली जनताको मन मुटुमा बसेको पार्टी भएको बताउँदै कांग्रेसप्रति जनताको विश्वास अझै आर्जन गर्न सबैले आ–आफ्नो क्षेत्रमा भूमिका निर्वाह गर्नुपर्ने बताए । आन्तरिक विवादहरुलाई मिलाउँदै, सबैको सुखदुखमा सरिक हुँदै सबैको विचार भावनाको सम्मान गर्दै कांग्रेस अघि बढ्ने बानियाँले प्रष्ट पारे ।

कार्यक्रममा कांग्रेसबाट बागमती प्रदेश सरकार र प्रदेशसभामा प्रतिनिधित्व गरेका मन्त्री तथा सांसद्हरु प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, १३ वटै जिल्लाका सभापतिहरु लगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया