मोटरसाइकलको ठक्करले बालकको मृत्यु

पालिका डायरी
३ चैत्र २०७८, १७:५७
मोटरसाइकलको ठक्करले बालकको मृत्यु

मोटरसाइलले ठक्कर दिँदा बारामा एक बालकको मृत्यु भएको छ ।

नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट जीतपुर सिमरा उपमहानगरपालिका-१८ माथिल्लो बडहर्वाका ४ बर्षीय रियान थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । पिलुवा–कलैया सडकखण्डको मोतीचोक नजिकै बिहान ८ बजेतिर उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते बालकलाई उपचारका लागि न्यूरो अस्पताल वीरगञ्ज ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।

बारामा नै बिहीबार बिहान साढे ५ बजे भएको अर्को दुर्घटनामा ६ जना घाइते भएका छन् । निजगढ नगरपालिका–७ भवरा पुल नजिकै पूर्वपश्चिम राजमार्गमा रोकिराखेको ट्रकसँग नारायणगढबाट आउँदै गरेको बस ठोक्किँदा उनीहरु घाइते भएका हुन् ।

सामुदायिक प्रसुति गृह निजगढमा उपचार गराएका उनीहरु सबैको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । बिहीबार नै बाराको जीतपुर सिमरा उपमहानगरपालिका लल्का पुलमा विराटनगरबाट वीरगञ्जतर्फ आउँदै गरेको ना ४ ख ६८८७ नम्बरको बस अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा दुई जना घाइते भएका छन् । घाइते भएकाहरु गण्डक अस्पताल वीरगञ्जमा उपचारपछि घर फर्किएका छन् ।

 

प्रतिक्रिया