कांग्रेसका केही नेता अतिवादी देखिए, एमालेसँग तालमेल असम्भव छैन: प्रचण्ड

पालिका डायरी
३ चैत्र २०७८, १२:२६
कांग्रेसका केही नेता अतिवादी देखिए, एमालेसँग तालमेल असम्भव छैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावमा माओवादीसँग गठवन्धन गर्नेबारे कांग्रेसका केही नेता अतिवादी बनेको गुनासो गरेका छन् । उनले प्रतिपक्षी एमालेसँग तालमेलको सम्भावना कांग्रेसको व्यवहारमा भर पर्ने बताए ।

बुटबलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘अहिले हामी गठबन्धनमा छौं । तत्काल एमालेसँग गठबन्धनको सम्भावना छैन । तर, राजनीतिमा असम्भव केही हुँदैन ।’

उनले अगाडि थपे, ‘कांग्रेसका केही नेताले माओवादीसँग माओवादीसँग कुनै हालतमा गठवन्धन हुँदैन भन्ने खालका अतिवादी विचार राखिरहेका छन् । तर, प्रधानमन्त्री देउवाले अब उहाँहरुलाई बोल्न बन्द गर भन्नुभएको छ । यदि कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिन्न ।

उनले प्रधानमन्त्री देउवाल यो गठबन्धनलाई बचाएर लैजाने पक्षमा रहेको बताए । यद्यपि, आफ्नो पार्टीले आफ्नै तागतमा चुनाव लड्ने कुरालाई प्राथमितामा राख्ने उनको भनाइ छ ।

गठवन्धन होला र जितौंला भन्ने मनस्थितिमा नबस्न उनले कार्यकर्तालाई आग्रह गरे । प्रचण्डले चुनाव हुन्छ वा हुँदैन भन्ने संशयको अवस्था अझै व्याप्त रहेको पनि बताए ।

उनले भने, ‘बाहिर अझै पनि निर्वाचन हुँदैन कि भन्ने चर्चा सुनिन्छ । तर, हामी चुनावको तयारीमा पुरै तागत लगाएर गइसक्यौं।’ उनले आज प्रधानमन्त्रीसँग भएको भेटमा पनि आफूले चुनावका बारेमा उठेका संशयबारे छलफल गरेको बताए ।

‘प्रधानमन्त्रीले भोट हाल्ने दिन पनि चुनाव हुन्छ कि हुँदैन भनिराख्छन्, नेपाल यस्तै हो भन्नुभयो,’ प्रचण्डले भने । उनले चुनावमा आफ्नै संगठनलाई बलियो बनाएर जानुपर्ने बताए ।

‘आफ्नै तागतमा जनताको मन जित्ने कुरालाई पहिलो साथै निर्वाचनमा तालमेल गर्ने र अधिकतम परिणाम निकाल्ने कुरालाई सहायक प्राथमिकतामा राखौं ।’

प्रतिक्रिया