सरकारी छाप किर्ते गरेको आरोपमा काठमाडौंबाट १२ जना पक्राउ

पालिका डायरी
२ चैत्र २०७८, १४:४४
सरकारी छाप किर्ते गरेको आरोपमा काठमाडौंबाट १२ जना पक्राउ

सरकारी छाप किर्ते गरेको आरोपमा प्रहरीले काठमाडौंको विभिन्न ठाउँबाट १२ जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले मंगलबार १२ जनालाई पक्राउ गरेको हो।

invotech
काठमाडौं महानगर-१२स्थित त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाइदिने प्रलोभन देखाएर मानिसहरूलाई ठगी गरिरहेको भन्ने गोप्य सूचना प्रहरीले पाएको थियो।

सो सूचनाको आधारमा कालिमाटी वृत्तबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

रोल्पा घर भई गोंगबु बस्ने २९ वर्षीय अमृत थापा, २४ वर्षीय प्रज्वल खड्का, बाग्लुङ घर भई सामाखुसी बस्ने ३० वर्षीय रञ्जित कार्की, म्याग्दी घर भई बालाजु बस्ने ३३ वर्षीय रामजी परियार, ललितपुर घर भई गोंगबु बस्ने ३६ वर्षीया गोमा बजगाई, पाल्पाका ३३ वर्षीय जीवनकुमार श्रेष्ठ र रामेछाप घर भई गौशाला बस्ने ३७ वर्षीय मिठे मगर पक्राउ परेका हुन्।

यस्तै, ललितपुरका रमेश बजगाई, काभ्रे घर भई माछापोखरी बस्ने २५ वर्षीय सन्दिप मैनाली, सिन्धुली घर भई धुम्बराही पिपलबोट बस्ने २१ वर्षीय अभिषेक मगर, दैलेख घर भई सिनामंगल बस्ने २२ वर्षीय निरन्जन तिवारी र धादिङ घर भई कलंकी बस्ने २४ वर्षीय मदन तामाङ पनि पक्राउ परेका छन्।

उनीहरूलाई कालिमाटीको टोलीले कलंकी, महाराजगन्ज, गोंगबु, सिनामंगल, गौशाला, जमलबाट पक्राउ गरेको वृत्तले जनाएको छ।

उनीहरूबाट प्रहरीले १० वटा विभिन्न सरकारी तथा निजी छाप, कन्सुलर विभागको एउटा, राष्ट्रिय परीक्षा बोर्डको एउटा, परीक्षा नियन्त्रण कार्यालयको एउटा छाप बरामद भएको हो। उनीहरूबाट किर्ते गरिएका विभिन्न सरकारी कागजातहरू समेत बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया