दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी

पालिका डायरी
२५ फाल्गुन २०७८, ११:०५
दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी

काठमाडौं / दक्षिण कोरियामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान भईरहेको छ ।

विभिन्न काण्डहरुको चर्चाका बीच नयाँ राष्ट्रपति चयनका लागि कोरियालीहरु मतदानमा सहभागी भएका छन् । उत्तर कोरियाबाट आईरहेको आणविक धम्की, देशभित्र जन्मदरको न्युन अवस्था, आवासको बढ्दो मूल्य र समाजमा बढ्दो असमानता नयाँ आउने नेतृत्वका लागि चुनौतीको रुपमा रहनेछन् ।

राष्ट्रपति मुन जे इनको स्थान लिएर एशियाको चौथो ठूलो अर्थतन्त्र भएको देशको नेतृत्व लिनका लागि सत्तारुढ डेमोक्रेटिक पार्टीका ली जे म्योङ र विपक्षी पिपुल्स पावर पार्टीका युन सुक योलबीच चर्को प्रतिष्पर्धा देखिएको छ ।

मत सर्वेक्षणहरुले म्योङ भन्दा युनलाई अगाडि देखाएका छन् । पूर्व महाअभियोजक रहेका युनले भ्रष्टाचार विरुद्ध कठोर कदम चाल्ने, उत्तर कोरियासँग पनि कठोर नीति लिने जस्ता नारा अघि सारेका छन् ।

दुई जना पूर्व राष्ट्रपति र सामसङ कम्पनीका प्रमुखलाई भ्रष्टाचार मुद्दामा जेल पठाउन सफल युनको लोकप्रियता अलि बढी नै देखिएको छ । यस्तै, मजदुरबाट उठेर मानवअधिकार अभियन्ताको परिचय बनाएका सत्तारुढ पार्टीका उम्मेदवार लीले अहिलेको समस्या समाधानका लागि तल्लो तहबाट उठेको ब्यक्ति आवश्यक हुने तर्क गर्दै आउनु भएको छ ।

नयाँ निर्वाचित हुने राष्ट्रपतिको भोलिदेखि कार्यकाल सुरू हुने छ ।

प्रतिक्रिया