श्रमिकको पक्षमा नभएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

पालिका डायरी
२४ फाल्गुन २०७८, १९:१६
श्रमिकको पक्षमा नभएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

 

सामाजिक न्याय र लैङिगक समानताः दिगो विकासको सुनिश्चितता भन्ने नारा सहित १ सय १२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज मनाइँदैछ। हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।
राजनीतिक तवरबाट शुरु भएको भए पनि हाल महिला अधिकार, महिला सशक्तीकरण र लैंगिक समानता, लैंगिक विभेद तथा हिंशा उन्मूलन आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् ।

देशमा विभिन्न कार्यक्रमहरु अयोजना गर्दै दिवस उल्लासमय बनिरहेको छ । सरकारी निकाय, राजनितिक दल तथा महिलासँग सम्बन्धित अन्य संघ संस्थाहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरेर दिवसलाई भव्य बनाउन लागि परेका छन् । बिहानै देखि प्रभातफेरी, अन्तक्र्रिया जस्ता कार्यक्रमहरु सञ्चालन भए । बागमती प्रदेशको राजधानी हेटौंडामा मंगलबार महिला दिवस लक्षित दर्जनौं कार्यक्रमहरु भए । कार्यक्रम सफल पार्न सबै लागि परेको सजिलै देख्न सकिन्छ ।
दिवसको अवसरमा जस्ता कार्यक्रमहरु भएता पनि श्रमिक महिलाहरुको न्यायको लागि कुनै उदाहरणिय काम भने हुन सकेको छैन ।

श्रम गर्नेलाई थाहा छैन दिवस

 

सहर बजारका हजारौं महिलाहरुले महिला दिवस मनाइरहँदा आज अन्तराष्ट्रिय श्रमिक महिला दिवस हो भन्ने थाहा पनि नपाएका दर्जनौं महिलाहरु भेटिए ।बजार नजिकका हजारौं महिलाहरु कार्यक्रममा सहभागी भैरहेका थिए । १२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसकै दिनमा समेत श्रम गरेर छाक टार्नेहरुलाई भने दिवसको कुनै महत्व नै छैन । हेटौंडा बजारबाट छोटो दुरीमा रहेको हेटौंडा १३ कुख्रेनी खोलामा बालुवा चाल्दै गरेकी २४ बर्षिय सानुमाया पाख्रिनलाई आज श्रमिक महिला दिवस हो भन्ने नै थाहा नभएको बताइन् ।

चर्को घाममा खोलाको बगरमा ढुंगाबाट छान्दै गिट्टी एकातिर र बालुवा अर्कोतिर बनाउँदै चाल्नको लागि तयारी गरिरहेकी सानुमाया यो दिवसमा के हुन्छ र भन्दै उल्टै प्रश्न थपिन् । ‘जे दिवस भएपनि छाक टार्नको लागि दुख नगरी खान पाइँदैन।’ सानुमायाले भनिन्, खै केही पनि थाहै भएन । गाउँका कोही कोही बजार गएका त छन् तर किन गका भन्ने थाहा थिएन ।

त्यसो त सोही खोलाको किनारमा दुईवटा लौरी गाडेर घाम छेक्नको लागि एउटा सानो पछ्रयौरीको छानो बनाएर खोलाको बगरबाट बालुवा खोतलिरहेकी ५० बर्षिय हरिमाया पनि यो बिषयमा उस्तै अनविज्ञ छिन् । छाक टार्नको लागि चर्को घाम नभनी श्रम गरिरहेकी हरिमाया जे दिवस भएपनि धनीहरुलाई मात्रै भएको बताउँछिन् । ‘हामी गरिबलाई त काम नगरी, हाड छाला नघोटी कहाँ खान पाइन्छ र ।’ श्रमिक महिला दिवस क्या हो थाहा छैन, हरिमायाले भनिन् ।

श्रमिक महिला दिवस कुटो कोदालो, ज्याला मजदुरी गर्ने महिलाहरुको लागि कुनै महत्व नरहेको यिनै उदाहरणबाट थाहा पाउन सकिन्छ । यस्ता दिवसले सबै महिलाहरुलाई समेट्न सकेको छैन ।

ज्यालामा छैन समानता

हेटांैंडा ५ मा रहेको न्यु जीवन कार्की फर्निचर उद्योगमा गोमा नेपाली विगत ६ बर्षदेखि काम गर्दै आइरहेकी छिन् । फर्निचरमा खास्सी घोट्ने, रङ लगाउने लगाएको काम गर्दै आइरहेकी नेपालीको दैनिक ज्याला ७ सय रुपैंया मात्रै छ । सुरुमा काम गर्दा २ सय ५० रुपैंयामा काम गर्न थालेकी नेपालीको ज्याला ६ बर्षको अवधीमा ४ सय ५० रुपैंया बढेको छ ।

हेटौंडा ११ थानाभ¥याङ बाट उक्त फर्निचर उद्योगमा आउजाउ गर्न उनलाई दैनिक २ सय अटो भाडा खर्च हुने गर्छ । खाजा खान ५० रुपैंया जती खर्च हुने गरेको उनी बताउँछिन् । त्यो सबै खर्च उनको त्यही दैनिक दिन गन्ती ज्यालामा पाइने ७ सय रुपैंयाबाट नै मिलाउने गरेकी छिन् । उनी सँगै काम गर्ने अर्की महिला साथीको पनि ज्याला गोमाको जतिनै छ ।
तर उनीहरु सँगै विगत ६ बर्ष देखि काम गर्दै आइरहेका सुमन माझीको ज्याला भने महिलाहरुको भन्दा ३ सय रुपैंयाले बढि छ । उनी पनि गोमाहरु सँगै फर्निचरमा रङ लगाउँछन् । एउटै काम, एउटै समयमा काम गरेता पनि पुरुष भएकै कारण महिला भन्दा सुमन ३ सय रुपैंया धेरै कमाउँछन् । उनको दैनिक ज्याला १ हजार रुपैंया छ ।

एउटै ठाउँमा एउटै काम गर्दा पनि समान ज्याला निर्धारण नगरिनु महिलाहरुको श्रम शोषण भैरहेको बलियो उदाहरणको रुपमा लिन सकिन्छ । ‘काम त एउटै हो । सुमन भाई केटा भएको भएर ज्याला धेरै पाएका होलान् ।’ गोमाले भनिन्, काम भन्दा पनि महिला कामदार कि पुरुष कामदार भनेर हेरिदो रहेछ । नत्र त बराबर भैहाल्थ्यो नी । एउटै काममा पनि किन समान ज्याला छैन भन्ने प्रश्नमा उक्त फर्निचरका सञ्चालक सबैतिर यस्तै ज्याला चलेको र आफुले पनि जे चलनमा छ सोही गरेको जवाफ दिए ।

प्रतिक्रिया