५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्छ : मन्त्री भुसाल

पालिका डायरी
२४ फाल्गुन २०७८, १६:१२
५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्छ : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले महिलाहरू ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्ने बताउनुभएको छ ।

मंगलबार ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले महिलाले पाएको ३३ प्रतिशत अधिकारलाई लागू गर्दै बाँकी रहेको १७ प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्ने बताउनुभएको हो ।

उहाँले महिलाहरूले राजनीतिक, संवैधानिक र कानूनी रूपमा अधिकार पाए पनि व्यवहारिक रूपमा अधिकारको प्रत्याभूति हुन नसकेको बताउनुभयो । छोरीहरूलाई छोरा सरह पैतृक सम्पतिमा अधिकार दिनेकुरा संविधान र कानूनमा उल्लेख गरिएको भए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो ।

कानूनमा पाएका अधिकारलाई जीवन व्यवहारमा लागू गर्नुपर्नेमा उहाँको जोड छ ।

‘अहिले पनि छोरीले छोरा सरह पैतृक सम्पति माथिको अधिकार प्राप्ति संविधानमा छ, कानूनमा छ जीवन व्यवहारमा छैन,’ उहाँले भन्नुभयो, ‘त्यसैले यसलाई व्यवहारमा कार्यान्वयन गर्ने कुरामा कुनै संकिर्णता र कुनै माया, मोहको भाव राख्न जरुरी छैन, जीवनमा लागू गरौं ।’

मन्त्री भुसालले अझैपनि महिलामाथि हुने हत्या, हिंसा र बलात्कारका घटनाहरू घट्नु चुनौतिको विषय भएको बताउनुभयो । महिलामाथि हुने अपराधलाई रोक्नु राज्यको कार्यभार भएको भन्दै उहाँले राज्यसँगै प्रत्येक व्यक्ति, परिवार र समाजपनि जिम्मेवार हुनुपर्ने बताभयो ।

प्रतिक्रिया