महिला पत्रकारलाई स्यानेटरी प्याड वितरण शुभारम्भ

पालिका डायरी
२४ फाल्गुन २०७८, १२:०७

हेटौंडा/ सञ्चारिका समूह नेपाल मकवानपुरले महिला पत्रकारहरुका लागि स्यानेटरी प्याड वितरण शुभारम्भ गरेको छ ।

११२औं नारी दिवसको अवसरमा सञ्चारिका समूह मकवानपुरले मंगलबार पत्रकार महिलाहरुबीच मैत्रीपूर्ण फुटसल खेलको आयोजना गर्दै प्याड वितरण कार्यक्रमको शुभारम्भ गरेको हो । यो कार्यक्रम हरेक महिना सञ्चालन हुने सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष सम्झना रिजालले जानकारी दिइन् ।

मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरी प्याड वितरणको सुरुवात गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले महिलाहरुको नेतृत्व र शसक्तिकरणका लागि राजनीतिक दलहरुले नै अग्रसरता देखाउनु पर्ने बताइन् । उनले दलहरुले अहिले महिला नेतृत्वलाई अघि आउने अवसर नै नदिएको भन्दै संविधानमा नै व्यवस्था भएको ३३ प्रतिशत महिला सहभागिता नै सुनिश्चित नभएको बताइन् ।महिलाहरुलाई सधै दोस्रो पदमा मात्र राख्ने गरेको बताउदै अब आफू हेटौंडा उपमहानगरपालिकाको नेतृत्वमा आउन चाहेको उनले बताइन् । उनले महिला पत्रकारहरुले सुरु गरेको प्याड वितरण कार्यक्रमलाई अझै प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष सम्झना कार्की, पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, उपाध्यक्ष धु्रव अधिकारी, सञ्चारिका समूह बागमती प्रदेश अध्यक्ष सरिता दाहाललगायतको उपस्थिति रहेको थियो ।

महिला पत्रकारलाई स्यानेटरी प्याड वितरण शुभारम्भ

प्रतिक्रिया