आज माओवादीको केन्द्रीय समिति बैठक बस्दै

पालिका डायरी
२३ फाल्गुन २०७८, १०:१९
माओवादीको केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं /  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (सोमबार) बस्दैछ ।

बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ११ बजे बस्ने माओवादी केन्द्रकी नेतृ रेखा शर्माले ईमेजखबरलाई जानकारी दिनुभएको हो ।

गत शुक्रबारदेखि सुरु भएको बैठक आइतबार फेरि बस्ने तय भए पनि अन्तिम समयमा आएर तयारी नपुगेको भन्दै स्थगित भएको थियो । स्थगित बैठक बिहान ११ बजे बस्ने माओवादी केन्द्रकी नेतृ रेखा शर्माले बताउनुभयाे । बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने र स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल हुने उहाँले बताउनुभयो ।

गत शुक्रबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले एमसीसी अनुमोदन गर्नुपर्ने विषयमा बोल्नुभएको थियो भने नेता नारायणकाजी श्रेष्ठले पनि मन्तब्य राख्नुभएको थियो ।

एमसीसीको विवादलाई टुंग्याएपछि केन्द्रीय सदस्यहरुको मनोनयन र पदाधिकारी चयनमा छलफल हुने जनाइएको छ । गत पुसमा सम्पन्न माओवादी महाधिवेशनले २ सय ९९ सदस्यीय केन्द्रीय कमिटि निर्धारण गरेकोमा १० प्रतिशत सदस्य केन्द्रीय समितिबाट चयन गर्ने ब्यवस्था गरिएकोथियो ।

त्यस्तै एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष चयन गर्न बाँकी छ ।

प्रतिक्रिया