साँगामा ‘ह्विलचेयर र्‍याली’

पालिका डायरी
१७ फाल्गुन २०७८, १४:०७
साँगामा ‘ह्विलचेयर र्‍याली’

काभ्रे / मेरुदण्डमा चोट लागेर आवतजावतको लागि ह्विलचेयर प्रयोग गर्नेहरु साँगामा आयोजित ‘ह्विलचेयर र्‍याली’ मा सहभागी भएका छन् । मेरुदण्डमा चोट भएका कारण बनेपा–१४ भैंसेपाटीस्थित स्पाइनल इञ्जुरी पुन:स्थापना केन्द्रमा उपचारको क्रममा रहेकाहरुले केन्द्रबाट करिक ५ सय मिटर क्षेत्रफलमा र्‍याली गरेका हुन् ।

अन्तर्राष्ट्रिय ह्विलचेयर दिवसको अवसरमा आयोजित कार्यक्रममा उनीहरुले ह्विलचेयरमैत्री वातावरण बनाउन माग गरेका थिए । ह्विलचेयर यात्री रामहबहादुर आफूले ह्विलचेयरमा नै पूर्व–पश्चिम यात्रा गरेको भन्दै ह्विलचेयरमैत्री वातावरण नहुँदा प्रयोगकर्ताले सास्ती बेहोरिरहेको बताए । ‘ह्विलचेयर मैत्री बाटो छैन, सवारीसाधन पनि ह्विलचेयरमैत्री छैनन्,’ रामबहादुर भने, ‘ह्विलचेयरको लागि छुट्टै ट्रयाक नहुँदा बाटो प्रयोग गर्ने क्रममा ज्यान नै लिन्छन् की भनेर सात्तोपुत्लो जान्छ ।’ केन्द्रका संस्थापक अध्यक्ष कनकमणि दिक्षितले देशाटन गर्न पाउनु ह्विलचेयर प्रयोगकर्ताको अधिकार भएको भन्दै सोही अनुसारका संरचना बनाउन सरोकारवालासँग माग गरे ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले काभ्रेका १३ वटा स्थानीय तह र सरकारी कार्यालयका प्रशासनिक भवन, शौचालयसमेत अपांगमैत्री बन्न नसकेको भन्दै सुधार गर्न आफू लागेको बताए । बनेपा–१४ का वडाअध्यक्ष सुर्यनारायण नापितले ह्विलचेयर प्रयोग गर्नु रहर नभइ बाध्यता भएको भन्दै यस्तो परिस्थिती आउन नदिन सचेत हुनुपर्ने बताए । केन्द्रका मेडिकल निर्देशक डा. राजु ढकालले गासबास, कपास जस्तै ह्विलचेयर पनि आधारभूत आवस्यकता भएको बताए ।

२० वर्षअघि काठमाडौंमा सुरु भएको पुन:स्थापना केन्द्रले काभ्रेको भैंसेपाटीमा सेवा दिइरहेको छ । कार्यक्रममा ह्विलचेयर प्रयोगकर्ताले सांस्कृतिक कार्यक्रम समेत गरेका थिए । ह्विलचेयर प्रयोगकर्ता पनि सक्षम भएको सन्देश दिन यस्ता कार्यक्रम हुँदै आएको अस्पतालका प्रशासकीय निर्देशक हरि अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया