प्रधानमन्त्री कपको दुबै सेमिफाइनल आज- बागमती र पुलिस तथा एपिएफ र आर्मी भिड्ने

पालिका डायरी
४ माघ २०७८, ०८:२०
प्रधानमन्त्री कपको दुबै सेमिफाइनल आज- बागमती र पुलिस तथा एपिएफ र आर्मी भिड्ने

राजधानीमा जारी प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सेमिफाइनलका खेलहरू हुँदैछन्।

त्रिवी क्रिकेट मैदानमा हुने पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशको सामना गर्नेछ। पुलिसले समूह ‘ए’ मा सबै चार वटै खेल जितेर समूह विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो। यस्तै बागमती प्रदेश समूह बी को उप विजेताको रूपमा अन्तिम चारमा प्रवेश गरेको हो। बागमतीले चार खेलमध्ये तीन खेलमा जित हात पारेको थियो।

यस्तै आज दिउँसो त्रिवी मैदानमै हुने दोस्रो खेलमा दुई विभागीय टोलीले प्रतिश्पर्धा गर्नेछन्। समूह बी को विजेता नेपाल एपीएफ क्लबले समूह ए को उपविजेता त्रिभुवन आर्मी क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

एपीएफले समूह अन्तर्गत चार वटै खेल जितेको थियो। यता आर्मीले भने चारमध्ये दुई खेलमा जित तथा एक खेलमा अंक बाँडेको थियो।

प्रतियोगितामा ७ वटा प्रदेश तीन विभागीय टिम गरी कुल १० टीमलाई दुई वटा समूहमा बाँडिएको थियो।

  • समूह ए: त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश, प्रदेश १
  • समूह बी: नेपाल एपीएफ क्लब, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश
  • पुस २६ देखि सुरू भएको प्रतियोगिताको फाइनल खेल भोलि त्रिवि मैदानमा हुनेछ ।

 

प्रतियोगिता विजेताले पाँच लाख र उप विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) ले ३० हजार प्राप्त गर्नेछन्। प्रतियोगिता उत्कृष्ट ब्याटर र बलरले समान २०-२० हजार प्राप्त गर्नेछन्।

सेमिफाइनलबाट बाहिरिने बाँकी दुई टोलीले ५०–५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। क्यानले यस पटक खेलाडीलाई म्याच फि १५ सयका दरले दिने जनाई सकेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले यसलाई ओमानमा हुने आइसिसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि खेलाडी छनोट गर्ने प्रतियोगिताको रुपमा समेत लिएको छ।

प्रतिक्रिया