मध्यरातमा मतदाता नामावली संकलन, विराेधमा एमालेले गर्‍याे प्रशासनमा तालाबन्दी

पालिका डायरी
२४ पुष २०७८, ०९:३२
मध्यरातमा मतदाता नामावली संकलन, विराेधमा एमालेले गर्‍याे प्रशासनमा तालाबन्दी

मध्यरातमा मतदाता नामावली संकलन गर्ने र फोटो खिच्ने काम गरिएको भन्दै ईलाका प्रशासन कार्यालय बुटवलमा कागजात नियन्त्रणमा लिएर शिल गरिएको छ।

शुक्रबार राती ११ बजेसम्म ईलाका प्रशासन कार्यालयका बसेर मतदाता फारम भर्ने र फोटो खिच्ने गरिरहेका निर्वाचन कार्यालयका दुई कर्मचारी र करिब डेढ सयको संख्यामा रहेका सर्वसाधारण रंगेहात समातिएका हुन्।

नेकपा एमाले रूपन्देहीका सदस्य बाबुराम पन्थीले सत्ताको आडमा नेपाली कांग्रेसले गैरकानुनी तवरले मतदाता थप्ने काम गरिरहेको भन्दै कागजात बरामद गरि प्रहरीको रोहबरमा ईलाका प्रशासन कार्यालयमा तालाबन्दी गरिएको बताए।

पन्थीले एमाले नेता तथा कार्यकर्ताहरू जिल्ला अधिवेशनमा केन्द्रीत भएको मौका छोपी नेपाली कांग्रेसका स्थानीय नेताको अगुवाईमा आवश्यक कागजात नभएका व्यक्तिलाई जम्मा गरि मतदातामा थप्ने काम गरिएको आरोप लगाए।

विभिन्न कामको शिलशिलामा रूपन्देही आई बसोबास गरेका तर बसाई सराई कागजात नभएका व्यक्तिलाई तीनवटा बसमा ल्याएर फोटो खिच्दै गर्दा आफूहरूले नियन्त्रण गरिएको उनले जानकारी दिए।

यसरी आउनेहरुमा अधिकांश महिलाहरु थिए। कतिपय महिला काखमा बच्चा बोकेर समेत आएका थिए। उनीहरूलाई नेपाली कांग्रेस बुटवल–१९ का अध्यक्ष टिकाराम पाण्डे आफैंले लिएर ईलाका प्रशासन कार्यालयमा आएका थिए।

प्रहरी प्रशासनको निगरानिमै मध्यरातमा गैरकानुनी काम गरिएको भन्दै एमाले कार्यकर्ताले करिब दुई घण्टा निर्वाचन कार्यालयका कर्मचारी र मतदाता फारम भर्न आएका सर्वसाधारणलाई कोठाभित्र थुनेर ढोकामा ताला लगाईदिएका थिए।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीबाट रित नपुगेका व्यक्तिको मतदाता संकलन गरेको पाईए मतदाता सूचीबाट हटाउने आश्वासन आएपछि कर्मचारीलाई ढोका खोलिदिएको पन्थीले बताए।

पन्थीले घटनाको सत्यतथ्य छानविन गरि रित नपुगेका मतदाताको नाम सूचीबाट हटाएपछि मात्र ताला खोलिदिने बताए।

बुटवल एमालेको गढ बन्दै जाँदा अत्तालिएको नेपाली कांग्रेसले विभिन्न जालझेल र गैरकानुनी तरिकाले मतदाता थप्ने कार्यमा लागेको उनले आरोप लगाए।

पन्थीले गृहमन्त्री बालकृष्ण खाँणको गृह जिल्लामा उनकै ठाडो निर्देशनमा रित नपुगेका व्यक्तिलाई समेत मतदाता नामावली भराउने काम भएको आरोप लगाए।

निर्वाचन कार्यालयका कर्मचारी मध्यरातसम्म मतादाता नामावली संकलन गर्न व्यस्त भईरहँदा ईलाका प्रशासन कार्यालयका कर्मचारी भने कोही थिएनन्।

प्रतिक्रिया