राष्ट्रिय सभा सदस्य निर्वाचन : आज मनोनयनपत्र र उजुरीको जाँचबुझ गर्ने आयोगको तयारी

पालिका डायरी
२३ पुष २०७८, ०९:३९
राष्ट्रिय सभा सदस्य निर्वाचन : आज मनोनयनपत्र र उजुरीको जाँचबुझ गर्ने आयोगको तयारी

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने निर्वाचन आयोगले जनाएको छ । आजै उमेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका पनि रहेको छ ।

पुस २४ गते उमेदवारले नाम फिर्ता लिने र पुस २५ गते उमेदवारको अन्तिम नामावली प्रकाशन तथा उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । निर्वाचन माघ १२ गते हुनेछ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ४३ जनाको उमेदवारी परेको छ । मंगलबार तोकिएको समयभित्र १९ सिटका लागि ४३ जनाको उमेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । प्रायः सबै प्रदेशमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाले राष्ट्रिय सभा सदस्य चुनावका लागि तालमेल गरेका छन् ।

आयोगका अनुसार नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट ५ जना, नेकपा (एकीकृत समाजवादी) बाट ५ जना, जनता समाजवादी पार्टी, नेपालबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जनाले उमेदवारी दर्ता गराएका छन् ।

यसैबीच आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूले गर्न पाउने खर्चको सीमा तोकेको छ । उम्मेद्वारले मतदाता नामावली खरिददेखि प्रतिनिधि परिचालनलगायत विभिन्न शीर्षकमा ३ लाख ५० हजार खर्च गर्न सक्ने आयोगको भनाइ छ । सवारी साधन/घोडा प्रयोग गर्न ७० हजार खर्च गर्न पाइनेछ । कार्यालय सञ्चालन गर्न पनि ७० हजार खर्च गर्न मिल्ने आयोगको भनाइ छ ।

प्रतिक्रिया