विद्यार्थीलाई ४५% छुट दिन अनेरास्ववियु मकवानपुरको माग,नदिए कडा आन्दोलन गर्ने

पालिका डायरी
२१ पुष २०७८, १६:४८
विद्यार्थीलाई ४५% छुट दिन अनेरास्ववियु मकवानपुरको माग,नदिए कडा आन्दोलन गर्ने

हेटौंडा । नेकपा एमाले निकट विद्यार्थी संगठन नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरले विद्यार्थीले सार्वजनिक बसमा पाउनु पर्ने ४५% भाडा छुटको माग गरेको छ ।

आज हेटौंडा स्थित न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले जिल्लाका साझा बस र सार्वजनिक बसहरुले विद्यार्थीहरुलाई भाडा छुट नदिएको बताए । उनले भनेः सार्वजनिक बसहरुले विद्यार्थीहरुलाई भाडा छुट नदिएको धेरै गुनासो आए संगै हामीले विद्यार्थीले पाउनुपर्ने अधिकारको लागि सम्बन्धित निकायहरुलाई ध्यानार्षण गराउने र अटेर गरे आन्दोलनमा उत्रने निचोड निकालेका छौ ।

उनले काठमाण्डौ उपत्यकामा भाडा छुट संस्थागत भएको बताउँदै मकवानपुरमा पनि संस्थागत गर्न आन्दोलनको तयारी गरेको बताए । उनले यसअघि पनि सार्वजनिक बसहरुले भाडा छुट नदिएको र अनेरास्वियु मकवानपुरले आवाज उठाएपछि माग सम्बोधन भएको बताउँदै पछिल्लो समयमा यातायात व्यवसायीहरुले विभिन्न बहानामा भाडा छुट दिन नमानेको बताए । उनले भाडाछुटलाई संस्थागत गर्न पुनः आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए ।

अध्यक्ष पौडेलले भनेः हामीले यातायात व्यवसायीहरुलाई ध्यानावकर्षण गराईरहेका छौ र तर व्यवसायीहरुले अटेर गर्ने,अवहेलना गर्ने र विद्यार्थीलाई गलत व्यवहार गर्ने गरेको पाईएको छ । अब हामी प्रशासन,स्थानीय तह र सम्बन्धीत निकायलाई पुनः ध्यानाकर्षण गर्छौ । माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रन बाध्य हुन्छौ । उनले राज्यबाट विद्यार्थीलाई प्राप्त उक्त अधिकारको प्रत्याभुत गराउन यातायात व्यवसायीहरुलाई अनुरोध गरे ।

यसैगरी,पत्रकार सम्मेलनमा बोल्दै अनेरास्ववियु केन्द्रीय सचिवाल सदस्य एवं मकवानपुर ईन्चार्ज किशन घिसिङले भाडा छुट काठमाण्डौ उपत्यकामा मात्रै संस्थागत हुन सकेको बताउँदै देशभर संस्थागत गर्न विभिन्न रचनाआत्मक आन्दोलनको कार्यक्रम गर्न केन्द्रीय कमिटीलाई ध्यानाकर्षण गर्ने बताए । उनले मकवानपुरको हकमा मनहरी,भीमफेदी,मकवानपुरगढी र हेटौंडा उपमहानगरपालिका भित्रका विद्यार्थीहरुले भाडा छुट नपाउँदा बढी मर्कामा पर्ने गरेको बताए । उनले जिल्लाका १० वटै स्थानीय तहलाई विद्यार्थीको भाडा छुटको अधिकारलाई सुनिश्चित गर्न अनेरास्ववियुले ध्यानाकर्षण गर्ने बताए । उनले भाडा छुटलाई यातायात व्यवसायीले वेवास्ता गरे अनेरास्ववियु मकवानप’रले कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ।

पत्रकार सम्मेलनमा अनेरास्ववियु मकवानपुरका उपाध्यक्ष द्वय अमृत बर्तौला,भुवन मैनाली,सचिव पुष्कर तिमल्सिना,सहसचिव प्रमोद फुयाँल,सचिवालय सदस्यहरु आशिष रौनियार,मनिस श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया