केपी ओलीलाई प्रचण्डको फोन, महाधिवेशनको उद्घाटन समारोहमा निम्ता

पालिका डायरी
११ पुष २०७८, १२:४४
केपी ओलीलाई प्रचण्डको फोन, महाधिवेशनको उद्घाटन समारोहमा निम्ता

 

काठमाडौं/ नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि निम्ता दिइएको छ।

माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैले फोन गरेर ओलीलाई निम्ता दिएका हुन्। राजनीतिक दलको राष्ट्रिय महाधिवेशनमा राष्ट्रिय राजनीतिका मुख्य दलका नेतृत्वलाई समेत बोलाउने प्रचलन रहेको छ।

यसअघि नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्रचण्ड र ओली एउटै मञ्चमा देखिएका थिए। गत सालको प्रतिनिधि सभा विघटन पश्चात ओली र प्रचण्डबीच तिक्तता बढ्दै गएको थियो ।

विभिन्न सार्वजनिक मञ्चहरुमा समेत ओली र प्रचण्ड एकअर्काको विरोधमा अभिव्यक्ति दिँदै आइरहेका छन्।

राष्ट्रिय महाधिवेशनमा फोन गरेर निम्ता दिएपछि जवाफमा ओलीले भने आफू पार्टीको कामममा झापामा रहेका कारण आउन नसक्ने बताएका छन् । उनले महासचिव शंकर पोखरेललाई पठाउने भएका छन्।

चितवनमा एमालेको दसौं राष्ट्रिय महाधिवेशन हुँदा माओवादी केन्द्रका तर्फबाट लिलामणी पोखरेल पुगेका थिए।

यसअघि माओवादी केन्द्रले कुनैपनि पाहुना नबोलाउने भनेपनि राष्ट्रिय सम्मेलन महाधिवेशनमा रुपान्तरण भएपछि भने शीर्ष राजनीतिक दलका शीर्ष नेताहरुलाई निम्ता दिइएको छ।

महाधिवेशनको उद्घाटन समारोह दिउँसो ३ बजे प्रज्ञा भवन कमलादीमा हुनेछ।

प्रतिक्रिया