हत्या आरोपमा वडा अध्यक्षसहित चार पक्राउ

पालिका डायरी
८ पुष २०७८, १८:०३

 

सल्यान/  सल्यानमा छिमेकीको विवाह भोज खान गएका व्यक्तिको रहस्यमय मृत्यु भएपछि प्रहरीले वडा अध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ ।

गत मंसिर २० गते दार्मा गाउँपालिका २ पाजाखोलाका ७० वर्षीय टेकबहादुर खत्री विवाह भइरहेको घर नजिकैको गोठमा मृत फेला परेका थिए । खत्रीको मृत्युको विषयमा अनुसन्धान गर्ने क्रममा उनको मृत्यु रहस्यमय भएको पाइएपछि वडाध्यक्ष डिल्लीबहादुर केसी, स्थानीय ३६ वर्षीय रामबहादुर खत्री, ४७ वर्षीय कुलबहादुर खत्री र २८ वर्षीय लक्ष्मण केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

पक्राउ परेका तीन जनाले वडाध्यक्षको नाम लिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता श्याम प्रकाश यादवले जानकारी दिए ।

मृतकका आफन्तले हत्या गरेको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले तीन जनालाई मंसिर २७ गते पक्राउ गरेको थियो भने वडाध्यक्षलाई पुस ५ गते पक्राउ गरेको हो। मृतक खत्री वडाध्यक्ष केसीले चलाएको मोटरसाइकलबाट लडेर मृत्यु भएको आफन्तले बताउँदै आएका छन्।

प्रहरीले वडाध्यक्षले चलाउँदै आएको लु ७१ प ३९२७ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

चार जनाको अदालतबाट म्याद थपि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । अनुसन्धानकै क्रममा भएकाले खत्रीको हत्या वा मृत्यु भनेर भन्न नसकिने प्रहरीको भनाई छ ।

प्रतिक्रिया