चितवनमा पाँच दिनको अवधिमा मरे तीन गैंडा

पालिका डायरी
७ पुष २०७८, १२:५८
चितवनमा पाँच दिनको अवधिमा मरे तीन गैंडा

 

चितवन/  चितवनमा पाँच दिनको अवधिमा तीनवटा गैंडा मरेका छन् । गएको मंसिर २७ गते भरतपुर महानगरपालिका वडा नं १६ मा एक गैंडा मृत फेला परेको थियो ।

सिद्धीगणेश सामुदायिक वनबाट नजिकै रहेको विजयनगरको गणेश मन्दिर जाने बाटो छेउको जैघाँस भएको खेतमा मृत अवस्थामा भेटिएको गैंडाको मृत्युको कारण अझै खुल्न सकेको छैन । त्यसको दुई दिनपछि फेरि निकुञ्जको कोर क्षेत्रमा दुईवटा गैंडा मरेका छन् । यही पुस १ गते नै निकुञ्जको टाइगर टप्स क्षेत्रमा पर्ने भिम्ली भन्ने ठाउँको बगरमा २६/२७ वर्षको भाले गैंडा मृत अवस्थामा भेटिएको छ । स्रोतका अनुसार त्यसको भोलिपल्ट पनि निकुञ्जको नवलपरासी अमलटारी क्षेत्रको आइल्याण्ड क्षेत्रमा अन्दाजी २४/२५ वर्षको पोथी गैंडा मृत फेला परेको थियो ।

यी दुवै गैंडा मरेको झण्डै एक साता हुँदासमेत चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले गैंडा मरेको विवरण तथा जानकारी अझै गराएको छैन ।

प्रतिक्रिया