हुलाकी सडकप्रति एमाले अध्यक्ष ओलीको चासो

पालिका डायरी
६ पुष २०७८, १०:२९
हुलाकी सडकप्रति एमाले अध्यक्ष ओलीको चासो file photo

 

रूपन्देही । सोमबार साँझ रूपन्देही आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले हुलाकी सडक निर्माणको काम प्रत्यक्ष अवलोकन गर्दै सो सडकखण्डका स्थानीयसँग संवाद गर्ने भएका छन् ।

मंगलबार दिउँसो कपिलवस्तुको बहादुरगन्जमा जसपा नेता मंगलप्रसाद गुप्तासहित ठूलो संख्यामा अन्य पार्टीबाट एमाले प्रवेश गराउन उनी लुम्बिनी आएका हुन् ।

मौसमी प्रतिकुलता भएमा जहाज उड्न समस्या आएर कार्यक्रम प्रभावित हुने भन्दै एक दिनअघि नै रुपन्देही आएर बसेकोले नै यो कार्यक्रमलाई ओलीले विशेष महत्त्व दिएको एमाले कपिलवस्तुका नेता भेषराज पाण्डेले बताए ।

अध्यक्ष ओलीले बिहान हुलाकीका विभिन्न खण्डमा गाडी रोकेर प्रत्यक्ष अवलोकन गर्ने र जनतासँग छलफल गर्ने प्रस्ताव राखेकाले सोही अनुसारको कार्यक्रम तय भएका एमाले नेता तथा लुम्बिनी प्रदेश सदस्य विष्णु पन्थीले बताए ।

‘लामो समय रोकिएको हुलाकी सडक उहाँकै नेतृत्वमा सुरू भएको हो, प्रगति कति भयो भनेर आफैं चासो राख्नुभयो, लुम्बिनीको सभाहल पनि उहाँको प्रस्तावित योजना हो त्यो पनि हेर्ने र हुलाकी सडकको ठाउँठाउँमा स्थानीयसँग नि भेटघाट गर्ने कार्यक्रम बन्यो, नेता पन्थीले भने, ‘मधेसको विकासमा उहाँको विशेष चासो छ, धेरै कामको शुरूवात मात्रै होइन फलोअप नि गर्नुहुन्छ ।

ओलीले हुलाकी सडक हेर्ने चाहना राखेपछि कपिलवस्तु प्रशासनले हुलाकी सडकमा सुरक्षा परिचालन गरेको छ भने मुख्य ठेकेदारलाई समेत ओलीले भेट्ने र कार्यप्रगतिबारे जानकारी लिने व्यवस्था मिलाइएको छ ।

लामो समय भारतले बनाउने आश्वासन पूरा नगरेपछि ओलीले आफ्नो कार्यकालमा हुलाकी सडकका लागि बजेट विनियोजन गरेर काम भइरहेको छ । अहिले कपिलवस्तु सदरमुकाम तौलिहवाको जमुहारदेखि विजनगर गाउँपालिकाको तुरन्तपुरसम्म जोडिने ५० किलोमिटर हुलाकी सडक निर्माणको काम जारी छ ।

ठेकदार पक्षले निर्माण अवधि २०८० सालसम्म भएको बताउँदै सडक, नाली भत्काएर लामो समयसम्म सडक लथालिंग हुँदा आवतजावतमा स्थानियलाई निकै समस्या हुँदै आएको थियो । राष्टि«य गौरवको आयोजना अन्तर्गत करिव तीन अर्ब रुपैयाँको लागतमा तौलिहवा बजार क्षेत्रमा पर्ने मुख्य सडक ठेकेदार शर्मा एन्ड शर्मा कम्पनीले निर्माणको जिम्मा पाएको थियो ।

स्थानीय बासिन्दा, प्रशासन र हुलाकी सडक आयोजनाले ठेकदार पक्षलाई सडक निर्माण गर्न दवाव दिएसँगै हाल आएर कामले तीव्रता पाएको हो । विगतमा वर्षातको समय र कोभिडका कारण निर्माणमा केही ढिला भएपनि हालआएर ५१ प्रतिशत काममा प्रगति भएकाले समयमै सम्पन्न हुने हुलाकी सडक आयोजनाका इन्जिनियर शरद आचार्यले जानकारी दिएका छन् । पर्यटकीय नगरी तिलौराकोट लगायतका स्थानमा पर्यटकका साथै स्थानीयले आवतजावत गर्ने सडक यहीँ पर्दछ ।

प्रतिक्रिया