आज चिसो बढ्ने, दिउँसो घाम लागे पनि हिजोअस्तिको जस्तो तातो फिल हुँदैन- मौसम पूर्वानुमान महाशाखा

पालिका डायरी
६ पुष २०७८, ०७:४३
आज चिसो बढ्ने, दिउँसो घाम लागे पनि हिजोअस्तिको जस्तो तातो फिल हुँदैन- मौसम पूर्वानुमान महाशाखा

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव सुरू भएको छ।

सोमबार रातिबाट न्यून चापीय प्रणालीमा असर पर्न थालेपछि उच्च पहाडी भूभागमा हल्का हिमपात हुने सम्भावना छ।  हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।

न्यून चापीय प्रणालीले न्यूनतम तापक्रम थोरै बढ्नसक्छ भने अधिकतम तापक्रम घट्ने हुन्छ। अर्थात बिहान चिसो केही कम र दिउँसो घाम लागे पनि न्यानो कम न्यानो हुने मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।

‘न्यून चापीय प्रणालीको आंशिक प्रभावले रातिदेखि अलिअलि बादल छ, खासै त्यस्तो ठूलो प्रभाव होइन, उच्च पहाडी भूभागमा हल्का हिमपात मात्र हुनसक्छ भने तराईका भागमा हुस्सु लाग्नसक्छ। नभए आंशिक बदलीको अवस्था हो’, मौसमविद् कँडेलले भनिन्, ‘काठमाडौंको आकाशमा पनि हल्का बादल लागेको छ। आजबाट यो प्रणाली हटेर जान्छ।’कँडेलका अनुसार घाम लागे पनि हिजोअस्तिको जस्तो तातो फिल हुँदैन।

तराईका भू-भागमा बिहानको समयमा हुसु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

मौसमविद् कँडेलका अनुसार मंगलबार बिहानन गरिएको मापन अनसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस देखिएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
मंगलबार
दिउँसो : पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

राती : प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ ,बागमती प्रदेश तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

बुधबार
दिउँसो : पहाडी भेगमा आँशिक बदली रही प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने बाँकि भेगमा मौसम सामान्यतया सफा रहने छ ।

राती : पहाडी भेगमा आंशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहने छ ।

बिहीबार
दिउँसो : देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राती: देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिक्रिया
chiso