सडकमा जमेको खोलाको पानी डोजरले पन्छाइयो

पालिका डायरी
५ पुष २०७८, १९:१६
सडकमा जमेको खोलाको पानी डोजरले पन्छाइयो

जोमसोम : उपल्लो मुस्ताङको लोमान्थाङमा अत्यधिक चिसोका कारण शाखा नदी बरफ बनेर जमेपछि आइतबार डोजरको सहायताले पन्छाइएको छ। मान्थाङ बजार नजिकै जोमसोम-कोरला सडकखण्डमा ठाडो खोलाको पानी चिसोले बरफ बनेर जमेपछि सवारी साधनलाई निकै सास्ती परेपछि सडक सफा गरिएको हो।

लोमान्थाङको ठाडो शाखा नदी जमेपछि जोमसोमबाट लोमान्थाङ प्रस्थान गरेका विभिन्न सवारी साधन लोमान्थाङ प्रवेश गर्न सकेका थिएनन्। नदी जमेपछि सवारी साधन चिप्लिने र दुर्घटना हुने अवस्था रहेकोमा युवाहरुले लोघेकर दामोदरकुण्ड—१ मराङबाट डोजर मगाएर खोलामा जमेको पानी पन्छाएको लोमान्थाङका स्थानीय लाक्पा वाङ्दी गुरुङले जानकारी दिए।

उनले लोमान्थाङ-५ का स्थानीय युवाहरुको सक्रियतामा बरफ बनेको सडकको पानी सफा गरेको उल्लेख गरे। उनका अनुसार लोमान्थाङ खोलामा बरफ बनेको पानी पन्छाएपछि यातायातका साधनलाई आउजाउमा समस्या भएको जनाए। उनले भने, ‘अहिले त खोलामा जमेको पानी पन्छाएका छौं। हिउँद पूरै बाँकी छ। एक दुई दिनमा फेरि उस्तै हुन्छ।’

त्यस्तै बेनी-जोमसोम सडकखण्ड अन्तर्गत समर खोला, भेना खोला, घमी खोला, चराङ खोला, लोमान्थाङ खोला र छोसेर खोला लगायतका शाखा नदी अत्यधिक चिसोले जम्ने गरेको लोमान्थाङका अर्का स्थानीय आङ्गेल गुरुङले जानकारी दिए। तिब्बतको स्वशासित क्षेत्र तिब्बत र नेपालतर्फको सीमाना कोरलानाका आसपास सेताम्मे हिउँको चाङ थुप्रिएको उनले बताए।

उपल्लो मुस्ताङमा दिउँसोको समयमा माइनस ५ डिग्री तापक्रम रहेपछि बिहान र बेलुकीपखको तापक्रम माइनस २० डिग्रीसम्म तापक्रम पुग्ने गरेको उनले उल्लेख गरे। ‘दिउँसो घाम लागेमात्र बाहिर निस्कन्छौं । नत्र घर भित्रै गुइँठा बालेर बस्ने गरेका छौं ‘, उनले भने।

उपल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण स्थानीयको दैनिकी कष्ठकर बनेको छ। चिसोका कारण घरका धाराहरु जमेपछि खानेपानीको सुविधाबाट वञ्चित बनेका छन्। उनीहरुले कुलो र खोलामा जमेको पानी घरमा तताएर प्रयोग गर्ने गरेका छन्। चिसोका कारण उच्चलेकबाट बस्ती स्थान्तरण गरिएका याकचौरी र भेडा-च्यांग्रालाई पशु आहारा दिन र उनीहरुलाई सुरक्षित व्यवस्थापन गर्नसमेत असहज बनेको छ। चिसोकै कारण गाउँमा बसेका स्थानीय कठ्याङ्ग्रिंदै हिउँद कटाउन बाध्य छन्।

उपल्लो मुस्ताङमा बर्सेनि एकबाली मात्र खेतीपाती हुने गर्छ। खेती गरिएको अन्नले ६ महिना पनि थेग्दैन। त्यहाँका स्थानीयलाई बाह्रै महिना गुजारा चलाउने एक मात्र विकल्प बेसी झरेर घुम्ती व्यापार गर्नु हो। उपल्लो मुस्ताङीले सदिंयौं वर्षदेखि यही परम्परालाई पछ्याइरहेका छन्। यस वर्ष पनि विगत झै अधिकांश उपल्लो मुस्ताङी जाडो छल्न र घुम्ती व्यापारमा निस्किएका छन्।

गाउँका कतिपय घरमा एक जना कुरुवा छोडेर जिल्ला छोडेका छन् भने कतिपयले पूरै घर बन्द गरी जिल्ला छोडेका छन्। लोमान्थाङ गाउँपालिकामा मात्रै ८० प्रतिशत स्थानीय जाडो छल्न बेसी झरिसकेको लोमान्थाङ गापाका कर्मचारी सुरेश घिमिरेले जानकारी दिए। यस्तै, उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गापामा ५० प्रतिशत स्थानीयले जिल्ला छोडिसकेको बताइएको छ। स्थानीयबासी नहुँदा उपल्लो मुस्ताङ सुनसान जस्तै बनेको छ। चिसोले सरकारी सेवासमेत प्रभावित बनेको छ।

चिसोका कारण उपल्लो मुस्ताङमा पर्यटकको उपस्थिति सुन्य हुन थालेपछि लोमान्थाङ, चराङ र घमीका पर्यटन व्यवसायी जाडो छल्न बेसी झरिसकेको लोघेकर दामोदरकुण्ड गापा अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए। उनका अनुसार यसै वर्षदेखि नेशनल ग्रीडको बिजुली पुगेकाले स्थानीयलाई जाडो छल्न केही राहत पुगेको छ। गापा अध्यक्ष बिष्टले हिउँदयामको अत्यधिक चिसोसँगै उपल्लो मुस्ताङमा भइरहेका संघ-प्रदेश र स्थानीय तहका सबै विकास योजनाको काम पूरै ठप्प भएको जानकारी दिए।

प्रतिक्रिया