तिहारको पाँच दिन : पंक्षी, जनावर र मानिस पूजाकाे महत्त्व

पालिका डायरी
१७ कार्तिक २०७८, २१:२४
तिहारको पाँच दिन : पंक्षी, जनावर र मानिस पूजाकाे महत्त्व

हेटौंडा/ पाँच दिनसम्म मनाइने यमपञ्चकले मानव सभ्यता र संस्कृतिको विकास क्रमलाई दर्शाउँछ । काग तिहारबाट सुरु हुने तिहार भाइटीका गरेर समापन गरिन्छ ।

पंक्षीहरूमा सबैभन्दा चलाख मानिने कागलाई सन्देश बाहकको रूपमा पनि लिने गरिन्छ । हिन्दूहरूले सन्देशबाहक पंक्षीको पूजा गरेर संस्कृतिलाई प्रकृतिसँग जोडेको बुझ्न सकिन्छ ।

यस्तै, कुकुरलाई आज्ञाकारी जनावरको रूपमा लिइन्छ । मानिसले आफ्नो सुरक्षाको लागि परापूर्व कालदेखि संगत गर्दै आएको कुकुरको महत्व आधुनिक युगमा झन बढेको पाइन्छ । कुकुरको पूजा गर्नुलाई पनि उसका गुणहरूको प्रशंसाको रूपमा लिन सकिने आध्यात्मिक जानकार विदुरप्रसाद न्यौपाने बताउनुहुन्छ ।

गाईलाई मातृ शक्तिको प्रतिक रूपमा पुजा गर्ने गरिन्छ भने गोरुको पूजा कृषि कर्मसँग जोडिएको छ । त्यसैगरी धन दौलतकी देवी महालक्ष्मीको पूजा गरेर समृद्ध घर परिवार र समाजको कामना पनि यो पर्वका क्रममा गर्ने गरिन्छ । तिहारको अन्तिम दिन मनाइने भाइटीकाले सुसभ्य र सु–संस्कृत नैतिकवान मानव जीवन दर्शाउँछ ।

पौराणिक कथन अनुसार भने सूर्यकी पुत्री यमुनाले आफ्ना दाजु यमराजलाई कात्तिक कृष्ण पक्षको त्रयोदशीदेखि शुक्ल पक्षको द्वितियासम्म घरमा राखी विभिन्न कन्दमूल र फलफूल खुवाएर प्रसन्न पार्दै आफ्नो मनोकामना पूरा गरेको संस्मरणस्वरूप पाँच दिनसम्म यो चाड मनाइँदै आएको हो ।

तिहारले मावन सभ्यताको विकासक्रमलाई पनि बुझाउछ । सय वटा शरद ऋतु देख्न र बाँच्नु सकियोस् भनेर शरद ऋतुमा नै तिहार पर्व मनाउने गरेको संस्कृतिविद्हरूको भनाइ छ । यी पाँच दिन दिदी बहिनी र दाजुभाइबीच आपसी सद्भाव बढोस् र कहिल्यै विछोड नहोस् भन्ने कामनाका साथ तिहार पर्व मनाउने गरिएकाे न्याैपानेकाे भनाइ छ ।

ज्ञानको गति बढोस्, त्रितेत्र खुलून् र दाजुभाइको जीवन कहिल्यै रङहीन नहोस् भन्ने कामनासहित सप्तरंगी टीका लगाइने शास्त्रीय मान्यता छ । तिहारमा खेलिने देउसी भैलो मर्यादा पुरुषोत्तम राम र वलिराजाको सम्झनासँग पनि जोडिएको छ ।

तिहार अँध्यारोमाथि उज्यालोको जीतको पर्व पनि हो । त्यसमाथि शरद ऋतुमा फक्रिने फूलको प्रयोगले यो पर्वलाई सुनमा सुगन्ध थप्ने गर्दछ ।

प्रतिक्रिया