कानुन व्यावसायीहरुसँग ‘फाइट’ गर्ने २ युवक पक्राउ, अन्यको खोजी जारी

पालिका डायरी
३ मंसिर २०७८, १४:२४
कानुन व्यावसायीहरुसँग ‘फाइट’ गर्ने २ युवक पक्राउ, अन्यको खोजी जारी

 

काठमाडौं/ आन्दालनरत कानुन व्यावसायीहरुलाई फिल्डमै गएर धम्क्याउने दुई युवक पक्राउ परेका छन् ।

बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै प्रदर्शन गरिरहेका बेला केही अज्ञात युवकहरुले कानुन व्यावसायीहरूसँग ‘फाइट’ गरेका थिए । उनीहरुले कानुन व्यावसायीहरुलाई अपशब्द बोल्दै आन्दोलन रोक्न धम्की दिएका थिए । त्यसपछि कानुन व्यावसायीहरुसँग उनीहरुको सामान्य धक्कामुक्की भएको थियो ।

धम्की दिनेमध्येका २ जना पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरूलाई बिहीबारै बेलुकी बौद्धबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । अन्यको खोजी जारी रहेकाे बताइएकाे छ।

पक्राउ पर्नेमा तीर्थ ढकाल र सिताराम श्रेष्ठ रहेको बताइएको छ । उनीहरुमध्ये ढकाल काठमाडौं महानगरपालिका– ६ बौद्ध र श्रेष्ठ कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीकाको भएको प्रहरीले जनाएको छ ।

अहिले दुवै जनालाई टेकुस्थित प्रहरी हिरासतमा राखिएको प्रहरीको भनाइ छ । उनीहरु कस्तो पृष्ठभूमिको हुन् र कोबाट परिचालित भएको या स्वतस्फूर्त सर्वाेच्चमा आएको भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

यस्तै धम्की दिनेमध्येका अन्य युवाहरु भने प्रहरीले पक्राउ गर्न सकिरहेको छैन । अझै अनुसन्धान तथा खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ । बिहीबार सर्वाेच्च परिसरमा छिरेका उनीहरुविरुद्ध कानुन व्यावसायीहरु नै खनिएपछि त्यहाँबाट भागेका थिए ।

प्रतिक्रिया