हेटौंडामा खुल्ला व्याडमिन्टन प्रतियोगिता सुरु

पालिका डायरी
१ आश्विन २०७८, १२:३६
हेटौंडामा खुल्ला व्याडमिन्टन प्रतियोगिता सुरु

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबारबाट खुल्ला व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । संविधान दिवस २०७८ को अवसरमा आयोजित खुल्ला डबल्स व्याडमिन्टन प्रतियोगितामा २१ जोडी टिमको सहभागिता रहेको छ ।

संविधान दिवस २०७८ मुल आयोजक समिति बागमती प्रदेशको आयोजना तथा मकवानपुर जिल्ला खेलकुद विकास समिति तथा जिल्ला व्याडमिन्टन संघको संयोजनमा प्रतियोगिता सुरु भएको हो । हेटौंडा–११ स्थित सामुदायिक सेवा केन्द्रको कभर्ड हलमा सुरु भएको प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेल भने भोली शनिबार हुने जनाइएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

संविधान दिवसको अवसरमा आयोजित विविध कार्यक्रमहरुमध्ये असोज १ गते शुक्रबार पहिलो कार्यक्रमको रुपमा व्याडमिन्टन प्रतियोगिता आयोजना भएको आयोजकले जनाएको छ । यस्तै भोली शनिबार ५ कि.मी. दौड प्रतियोगिता तथा रक्तदान कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीको सभाध्यक्षतामा भएको प्रतियोगिताको उद्धाटन कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री अजय क्रान्ति शाक्यको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया