आज पनि बढ्यो सुनचाँदीकै भाउ
सुनचाँदीकै भाउ आज पनि बढेको छ। विगत केही दिनदेखि निरन्तर घट्दै आएको सुनचाँदीकै मूल्य सोमबार र मंगलबार लगातार बढेको हो।
सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेर २ लाख ४७ हजार ९ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार तोलामा ४ हजार ८ सय रुपैयाँ बढेर सुनको भाउ २ लाख ४७ हजार ४ सय कायम भएको थियो।
यसअघि गत कात्तिक २३ गतेदेखि एक सातासम्म सुनको भाउ लगातार घटेको थियो। एक सातामा ४१ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ हिजो र आज दुई दिनमा ५ हजार ३ सय रुपैयाँ बढेको छ। आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ३५ रुपैयाँ बढेर चाँदीको भाउ आज ३ हजार १४५ रुपैयाँ कायम भएको छ।
गत वर्षको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसयताको झण्डै १० महिनामा सुनको भाउ ९६ हजार ७ सय रुपैयाँ घटिसकेको छ।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो। गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

