मंगलबार बिहान काठमाडौँसमेत हल्लाउने भूकम्पको केन्द्रबिन्दु ताप्लेजुङ
ताप्लेजुङको ओलाङचुङगोला नजिक तिब्बत सीमा क्षेत्र आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ।
नेपाल र तिब्बतको सीमा क्षेत्र भएर मंगलबार बिहान ७ बजेर १७ मिनेट जाँदा ५.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए।
‘ओलाङचुङगोला (ताप्लेजुङ) तिब्बत सीमा क्षेत्र नजिक केन्द्रबिन्दु भएर भूकम्प गएको हो,’ अधिकारीले नेपालखबरसँग भने, ‘यो मध्यमस्तरको भूकम्प हो।’ भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित पूर्वी र मध्य तराईका धेरै जिल्लामा महसुस भएको छ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले हालसम्म भूकम्पले गरेको क्षतिको विवरण प्राप्त भएको बताए। ‘भूकम्पले यता त निकै मज्जाले हल्लायो। केन्द्रबिन्दु नजिकै रहेछ,’ उनले नेपालखबरसँग भने, ‘तर अहिलेसम्म हामीलाई भूकम्पले गरेको क्षतिको विवरण प्राप्त भएको छैन। हामी स्थानीय तहमा बुझिरहेका छौँ।’ भौगोलिक रूपमा नेपाल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्रमा पर्छ।
हिमालय क्षेत्र भएकाले यहाँ ससाना भूकम्प निरन्तर गइरहन्छन्। तर, पश्चिम नेपालमा लामो सयमदेखि ठूलो भूकम्प नगएकाले भूकम्पको जोखिम अझ धेरै रहेको भूकम्पविद्हरूले बताउने गरेका छन्।

