दुई युवाको सम्झनामा १८ खेलाडीको प्रतिस्पर्धा, खेलकुद विकासमा जुटे वडाध्यक्ष मोक्तान
हेटौँडा / गत भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका हेटौँडा उपमहानगरपालिका १५ निवासी स्वर्गीय सुमनलाल गोले र रमेश मगरको स्मृतिमा १५ नं. वडास्तरीय स्नुकर च्याम्पियनसिप २०८३ सुरु भएको छ स्थानीय युवाको प्रतिभा पहिचान तथा खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यसहित हेटौँडा १५ खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता सुरु गरिएको हो
समितिका अध्यक्ष गोविन्द नेगीको सभाध्यक्षता तथा पूर्वमन्त्री एवं बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको हो
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले खेलकुद प्रतियोगिताहरू विगतमा सहर र राजधानी केन्द्रित हुने गरेकोमा पछिल्लो समय गाउँ, टोल र वडा तहसम्म विस्तार हुनु सकारात्मक परिवर्तन भएको बताए
उनले हेटौँडा–१५ का वडाध्यक्ष सुनिल मोक्तानको सक्रियतामा वडाभित्र विभिन्न खेलकुद गतिविधि सञ्चालन हुनु प्रशंसनीय रहेको उल्लेख गर्दै श्रेष्ठले यस्ता प्रतियोगिताले युवाभित्र लुकेर रहेका प्रतिभा उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए
उनले खेलाडीहरूलाई धेरै विधामा हात हाल्नुभन्दा आफूले रोजेको कुनै एक खेलमा दक्षता हासिल गर्न सके व्यक्तिगत सफलतासँगै गाउँ, टोल र राष्ट्रकै पहिचान स्थापित गर्न सकिने भनाई राखे खेलकुदलाई केवल मनोरञ्जन वा समय बिताउने माध्यमका रूपमा मात्र नलिई यसलाई व्यावसायिक र सम्भावनायुक्त क्षेत्रका रूपमा विकास गर्न युवाहरूलाई उनले आग्रह गरे
कार्यक्रमका विशेष अतिथि एवं हेटौँडा–१५ का वडाध्यक्ष सुनिल मोक्तानले स्थानीय युवाहरूको माग, रुचि र सक्रियतालाई सम्बोधन गर्दै वडास्तरीय स्नुकर प्रतियोगिता आयोजना गरिएको बताए
प्रतियोगिताले खेलकुद विकाससँगै बाढीमा ज्यान गुमाएका आफ्नै वडाका दुई युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्ने उद्देश्यसमेत बोकेको छ उनले भने उनले उनीहरूको स्मृतिमा आयोजना गरिएको प्रतियोगिताले स्थानीय खेलकुद गतिविधिलाई थप जीवन्त बनाउने अपेक्षा गरिएको बताए
उद्घाटन समारोहमा पूर्व चुरियामाई गाविस अध्यक्ष इन्द्रमान स्याङतान, हेटौँडा–१५ का वडा सदस्य सिंहबहादुर लो, मिनु बिस्वकर्मा चुरियामाई सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हर्कमान पाख्रिनलगायतको आतिथ्यता रहेको थियो।
वडा नम्बर १५ का १८ जना खेलाडी सहभागी प्रतियोगिताको फाइनल खेल आगामी मङ्सिर ४ गते हुनेछ। प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद ३० हजार रुपैयाँ र द्वितीय हुनेले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, सेमिफाइनलमा पुग्ने दुई खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रतियोगिताको हाइएस्ट ब्रेकर बन्ने खेलाडीले थप ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

