हेटौँडा–१३ मा सार्वजनिक सुनुवाइ, पाँच वर्षको राजस्व र खर्च विवरण सार्वजनिक
हेटौँडा / हेटौँडा उपमहानगरपालिका–१३ ले पछिल्लो पाँच वर्षमा संकलन गरेको राजस्व र त्यसको खर्च विवरण सार्वजनिक गरेको छ। वडाले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका काम, विकास निर्माणका योजना र सेवा प्रवाहको अवस्थाबारे समेत नागरिकलाई जानकारी गराएको छ।
कार्तिक ३० गते वडा कार्यालय परिसरमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाको वार्षिक प्रगति, योजना कार्यान्वयनको अवस्था तथा पाँच वर्षको आयव्यय विवरण प्रस्तुत गरिएको हो।
वडा अध्यक्ष पेमा दोर्जे लामाको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडाले गरेका कामकारबाही र आर्थिक गतिविधिबारे स्थानीय बासिन्दासँग प्रत्यक्ष छलफल गरिएको थियो।
कार्यक्रममा प्रस्तुत विवरणमाथि सहभागीहरूले वडाको विकास निर्माण, बजेट खर्च, राजस्व संकलन र सेवा प्रवाहका विषयमा जिज्ञासा राखेका थिए। उनीहरूले वडाको आगामी विकास योजनामा स्थानीय आवश्यकता र प्राथमिकतालाई ध्यान दिन सुझावसमेत दिएका थिए।
नागरिकले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ दिँदै उपप्रमुख राजेश बानियाँले स्थानीय सरकार नागरिकप्रति जवाफदेही हुनुपर्ने बताए। उनले नागरिकका गुनासा र सुझावलाई सम्बोधन गर्दै सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
स्थानीय तहको कामकारबाही, आर्थिक गतिविधि र विकास निर्माणका विषय नागरिकसामु प्रत्यक्ष प्रस्तुत गरी जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ आयोजना गरिएको हो। कार्यक्रममा वडावासी, बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि, महिला तथा सञ्चारकर्मीहरूको सहभागिता थियो।

