चित्लाङबाट ६ किलो चरेससहित दुई जना पक्राउ

पालिका डायरी
३० कार्तिक २०८३, ०९:२७
मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङस्थित प्रहरी चेकपोस्टबाट ६ किलो ४० ग्राम अवैध लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार सोमबार राति करिब १ः४५ बजेको समयमा इलाका प्रहरी कार्यालय चित्लाङको चेकपोस्टमा सवारीसाधन जाँच गर्ने क्रममा चरेस फेला परेको हो।

इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको कमान्डमा खटिएको प्रहरी टोलीले गोरखा, चितवन र हेटौँडा हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–०३५ च ४५६१ नम्बरको सेतो रङको ओमोडा जेइकु ६ टी मोडेलको एसयूभी गाडी जाँच गर्ने क्रममा चरेस बरामद गरेको जनाएको छ।

गाडीको पछाडिको डिक्कीमा रहेको कालो रङको लगेजभित्र लत्ताकपडाले छोपेर सेतो प्लास्टिकमा र्‍याप गरी लुकाइछिपाइ राखिएको अवस्थामा पाँच पोका चरेस फेला परेको थियो। बरामद चरेस तौल गर्दा ६ किलो ४० ग्राम रहेको प्रहरीले जनाएको छ।

प्रहरीले गाडी चालक काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ सञ्जीवनी चोक स्थायी घर भई हाल बनेपा नगरपालिका–८ तीनदोबाटो बस्ने ३३ वर्षीय हेविन श्रेष्ठ र गाडीमा सवार चितवनको भरतपुर महानगरपालिका–११ कोल्टाँडी स्थायी घर भई हाल भरतपुर–२ क्षेत्रपुर बस्ने २१ वर्षीया दिव्याश्री काफ्लेलाई नियन्त्रणमा लिएको छ।

स्थानीय बासिन्दा तथा जनप्रतिनिधिको उपस्थितिमा कानुनी प्रक्रिया पूरा गरी लागूऔषध, गाडी र दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया