विकासको परिभाषा बदल्दै वडा नं. १५ : पूर्वाधारसँगै स्वरोजगार र खेलकुदमा अध्यक्ष मोक्तानको जोड
हेटौँडा । विकास भनेको सडक, भवन र भौतिक संरचना निर्माण मात्र होइन, नागरिकको क्षमता विकास, रोजगारी सिर्जना र युवालाई आत्मनिर्भर बनाउनु पनि हो भन्ने मान्यतासहित हेटौँडा उपमहानगरपालिका–१५ ले युवा लक्षित सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिएको छ।
वडा अध्यक्ष सुनिल मोक्तानको पहलमा वडाका युवालाई व्यावसायिक सीप प्रदान गरी स्वरोजगार बनाउने उद्देश्यले बरिस्ता (Barista) तालिम सञ्चालन गर्न लागिएको हो। वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालन हुने तालिमका लागि इच्छुक व्यक्तिहरूबाट आवेदनसमेत आह्वान गरिएको छ।
युवालाई सीपमूलक तथा व्यावसायिक ज्ञान प्रदान गरी रोजगारी खोज्ने मात्र नभई आफैँ रोजगारी सिर्जना गर्न सक्ने बनाउने लक्ष्यसहित तालिम कार्यक्रम अघि बढाइएको वडा कार्यालयले जनाएको छ।
तालिममा १० जना सहभागी छनोट गरिनेछ भने तालिमको अवधि एक महिना रहनेछ। हेटौँडा उपमहानगरपालिका–१५ का स्थायी बासिन्दालाई प्राथमिकता दिइने तालिममा सहभागी हुन कक्षा १२ उत्तीर्ण गरेको, १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। साथै तालिमप्रति रुचि र सीप सिकेर व्यावसायिक विकास गर्ने प्रतिबद्धता आवश्यक पर्नेछ।
आवेदनका लागि नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको दुई प्रति फोटो, सम्पर्क नम्बर तथा शैक्षिक प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ। सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र वडा नं. १५ को कार्यालयमा आवेदन दिन सकिनेछ।
वडा अध्यक्ष मोक्तानले भौतिक विकाससँगै वडामा रहेका युवालाई स्वरोजगार बनाउने उद्देश्यले विभिन्न प्रकृतिका सीपमूलक तथा व्यावसायिक तालिम सञ्चालन गर्दै आएको बताए।
उनले विकासलाई सडक र पूर्वाधार निर्माणमा मात्र सीमित नराखी मानव संसाधन विकास, युवा उद्यमशीलता र खेलकुदको प्रवर्द्धनसँग जोडेर अघि बढाउनुपर्ने बताए अब वडा तहका कार्यक्रमसँगै नगरस्तरीय कार्यक्रमलाई समेत प्राथमिकतामा राखेर अघि बढ्ने योजना रहेको उनले भने
वडामा सञ्चालन हुँदै आएका विभिन्न खेलकुद गतिविधिलाई नगरस्तरीय बनाउँदै प्रतियोगिता आयोजना गर्न थालिएको उल्लेख गर्दै अध्यक्ष मोक्तानले युवाको क्षमता र प्रतिभालाई स्थानीय तहबाटै पहिचान गरी ठूलो मञ्च प्रदान गर्ने प्रयास भइरहेको बताए।
वडा नं. १५ मा खेलकुदका गतिविधिलाई विस्तार गर्ने र स्थानीय प्रतिभालाई नगरस्तरमा प्रतिस्पर्धा गर्ने अवसर सिर्जना गर्ने उद्देश्यले विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गरिएको उनको भनाइ छ।
यसअघि पनि वडा नं. १५ ले खेलकुद क्षेत्रलाई प्राथमिकता दिँदै राष्ट्रियस्तरको स्नूकर प्रतियोगितासमेत आयोजना गरेको थियो। वडाध्यक्ष कप–२०८३ राष्ट्रिय स्नूकर च्याम्पियनसिपले वडा नं. १५ को खेलकुद गतिविधिलाई फराकिलो पहिचान दिलाउने प्रयास गरेको थियो।
भौतिक पूर्वाधार निर्माणसँगै युवा स्वरोजगार, व्यावसायिक सीप, खेलकुद र प्रतिभा विकासलाई जोडेर अघि बढाइएको वडा नं. १५ को कार्यक्रमले स्थानीय विकासको प्राथमिकतालाई फराकिलो बनाउने अपेक्षा गरिएको छ।

