ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
सिरहामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडकखण्डमा बिहीबार बिहान भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना पुरुषको मृत्यु भएको हो।
प्रहरीका अनुसार बिहान करिब १० बजे चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ना.१ घ. ५५३ नम्बरको ट्रक र सिरहाबाट चौहर्वातर्फ आउँदै गरेको स.९ प. ७६५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकलमा सवार नामथर र वतन नखुलेका दुई जना पुरुष गम्भीर घाइते भएका थिए। घाइते दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्याइएकोमा चिकित्सकले बिहान १०ः२५ बजे मृत घोषणा गरेका थिए।
दुर्घटनापछि ट्रक चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई प्रहरी कार्यालयमा ल्याउने प्रक्रिया भइरहेको छ।
मृतक दुवै जनाको पहिचान खुल्न नसकेको र आफन्तको खोजी तथा पहिचान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

