कुलेखानी ड्याम केही घण्टामै भरिने भन्दै मकवानपुर प्रशासनले जारी गर्‍यो ‘अलर्ट’

पालिका डायरी
१४ कार्तिक २०८३, १२:२०
फोटोः सुवास थापा मगर

लगातार वर्षाले कुलेखानी जलाशय भरिन लागेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिइएको छ।

जलाशयमा पानीको सतह एक हजार ५२७ दशमलव ९३ मिटर पुगेको छ। जलाशयको अधिकतम भण्डारण क्षमता एक हजार ५३० मिटर हो। कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतका अनुसार जलाधार क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेकाले जलाशयको सतह तीव्र गतिमा बढिरहेको छ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जलाशयको सतह केही घण्टामै एक हजार ५२८ मिटर नाघ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्र तथा नदीकिनार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनेका छन्।

साथै उनले नदीकिनारबाट टाढा अग्लो र सुरक्षित स्थानमा बस्न तथा आयोजनाबाट जारी सूचना र मोबाइलमा प्राप्त हुने एसएमएसमा उल्लेखित निर्देशन पालना गर्न भनेका छन्।  जलविद्युत् केन्द्रले चेतावनी जारी गरेको छ।

जलाशयको सतह सन्तुलित राख्न बाँधका ढोका खोल्नुपर्ने अवस्थामा चेतावनीको साइरन बजाइने केन्द्रका प्रमुख राउतले बताएका छन्।  उनले देउराली–सिस्नेरी सडकखण्ड प्रयोगमा पनि सावधानी अपनाउन भनेका छन्।

प्रतिक्रिया