काठमाडौँ आवतजावत गर्ने बीपी राजमार्ग र कान्तिलोकपथ अवरुद्ध
File Photo
बाढीपहिरोले आज बीपी राजमार्ग, कान्ति लोकपथसहितका सडकखण्ड अवरुद्ध भएका छन्।
शुक्रबारदेखिको निरन्तरको वर्षाको कारण पहिरो खस्दा गएराति देखिनै काठमाडौँ आवतजावत गर्ने बीपी राजमार्ग र कान्ति राजपथ अवरुद्ध छ। बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोसी गाउँपालिका वडा नम्बर- ९ पिन्थलीमा सडक अवरुद्ध भएको जिल्ल प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
सडकमाथिबाट खहरे खोलाको ढुङ्गा माटोसहितको लेदोसहितको पहिरोले रोसी गाउँपालिका वडा नम्बर-८ गिम्दीबेसीमा पनि सडक अवरुद्ध भएको हो। अहिले पनि पहिरो झरिरहेको हुनाले सडक दुईतर्फी रूपमा नै पूर्णरूपमा अवरुद्ध छ।
सडक अवरुद्ध हुँदा सिन्धुलीबाट काठमाडौँ तर्फ आउँदै गरेका र यताबाट सिन्धुलीतिर जाँदै गरेका सवारी साधन बिच बाटोमै रोकिएका छन्। अर्नब चक्रपातको कारण गएराति देखि नै निरन्तर वर्षा भइरहेकाले बाढी पहिरोको सम्भावना बढेको छ।
त्यसैगरी बाढीपहिरोको कारण ललितपुर र मकवानपुरमा कान्ति लोकपथ पनि अवरुद्ध छ। ललितपुरको बागमती गाउँपालिका- ३ पान्दु र तार्केमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
त्यसैगरी गोरखा, मुस्ताङ र सुर्खेतमा पनि बाढीपहिरोको कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।


