बकैयामा डिजेल बोकेको ट्यांकर दुर्घटना हुँदा चालकको मृत्यु
मकवानपुरको बकैया गाउँपालिका-५ तीनतलेस्थित मदन भण्डारी लोकमार्गमा डिजेल बोकेको ट्यांकर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
शुक्रबार (हिजो) साँझ करिब ७ः३० बजे हेटौँडाबाट बकैयाको हात्तीसुँडेतर्फ जाँदै गरेको ना ६ ख २९४९ नम्बरको डिजेल लोड ट्यांकर दुर्घटना भएको हो।
सडकको बायाँतर्फ पल्टिएको ट्यांकरमा चालक च्यापिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कायाृलय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधव काफ्लेले बताए।
दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी गरगरेबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय पशुपतिनगर र फापरबारीबाट थप प्रहरी टोली खटिएको डीएसपी काफ्लेले बताए।
मृत्यु भएका व्यक्ति सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ निवासी अन्दाजी ४० वर्षीय रमेशकुमार रायमाझी रहेको प्रहरीले जनाएको छ।
प्रहरी टोलीले ट्यांकरमा च्यापिएका चालकलाई मृत्यु भइसकेको अवस्थामा राति करिब १० बजे बाहिर निकालिएको थियो।
उनको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।


