हेटौंडा कृषि प्रदर्शनी तथा व्यापार मेला सुरु
हेटौंडा उपमहानगरपालिकाको आयोजनामा ४ दिने कृषि तथा स्थानीय उत्पादन प्रदर्शनी तथा व्यापार मेला सुरु भएको छ । आलिदेखि थालीसम्म भन्ने मुल नाराको साथ आयोजना भएको कृषि मेला आइतबारदेखि सुरु भएको हो ।
स्थानीय कृषि उत्पादनको प्रवद्र्धन, कृषकलाई बजारसँग जोड्ने तथा स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले मेला आयोजना गरिएको हो । मेलाले कृषक, कृषि उद्यमी तथा उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्दै स्थानीय उत्पादनको उपभोग र व्यावसायिक कृषिलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको उपमहानगरपालिकाले जनाएको छ । चार दिनसम्म सञ्चालन हुने मेलामा कृषि उपज तथा स्थानीय उत्पादनको प्रदर्शनी र व्यापारलाई प्राथमिकता दिइएको उपमहानगरपालिकाका कृषि शाखा प्रमुख तथा कार्यक्रम संयोजक प्रदीप रेग्मीले जानकारी दिए ।

उपमहानगरपालिकाले निःशूल्क उपलब्ध गराएको स्टलमा हेटौंडाका कृषक तथा उद्यमीहरुले आफ्ना उत्पादन राखेका छन् । मेलामा कृषि उपज देखि हस्तकलाका सामाग्री, दूग्धजन्य पदार्थ, खानाको स्टलहरु राखिएको छ । हेटौंडाको फार्ममा पालिएको कालिज, मह, रायोको साग, ड्राइगन फ्रुट, एभोकाडो, काष्ठकलाका सामाग्री, हस्तकलाका सामाग्रीहरु लगायत ३३ वटा स्टलबाट सुपथ मूल्यमा बिक्री वितरण भैरहेको छ । यो बाहेक खानाको ६ वटा स्टल राखिएको रेग्मीले बताए ।
किसानले उत्पादन गरेको समाग्री बिक्री गरेर आम्दानीको स्रोत बढाउन हौसला प्रदान गर्ने उदेश्यले मेलाको आयोजना गरिएको हेटौंडा उपमहानगरपालिकाकी नगरप्रमुख मीना कुमारी लामाले बताइन् । कृषकका लागि सबै सुविधा उपमहानगरपालिकाले व्यवस्थापन गरिएको उनको भनाइ छ । उपमहानगरको १० लाख रुपैँया बजेटबाट मेला आयोजना गरिएको नगरप्रमुख लामाले बताइन् ।
आइतबार मेलाको उद्घाटन गर्दै चार दिने मेलाको औपचारिक रुपमा सुरुवता भएको हो । कार्यक्रमका विशिष्ट अतिथि मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले हेटौंडा उपमहानगरपालिकाको सिर्जनात्मक अभ्यासहरुको प्रशंसा गरे । स्थानीय तहले स्थानीयका लागि जस्तो कामहरु गर्नुपर्ने हो, त्यस्तै कामलाई हेटौंडा उपमहानगरपालिकाले प्राथमिकता दिएकोमा खुसी लागेको उनले बताए ।

यसअघि सञ्चालन गरिएको समृद्ध हेटौंडा बहस, महिलामैत्री हेटौंडा बहस जस्ता कार्यक्रमले पनि उपमहानगरपालिकाको सिर्जनात्मक अभ्यासलाई उजागर गरेको उनले बताए । अरुले साना सोच्ने साना कार्यक्रमले भुँइतहका नागरिकको लागि लाभ मिल्ने बताउँदै उनले भने, ‘उपमहानगरपालिकाले यति स्थान र अवसर जुटाइदिँदा आफ्ना बारीमा फलेका तरकारी र फलफूल बेचेर आम्दानी गर्न पाउनु गर्वको कुरा हो ।’
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले पनि स्थानीय उत्पादनको प्रवद्र्धन र कृषकलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रम महत्त्वपूर्ण रहेको बताए । स्थानीयस्तरमा उत्पादित वस्तुको पहिचान स्थापित गर्न, उत्पादनलाई बजारसँग जोड्न र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन कृषि तथा स्थानीय उत्पादन मेलाले सहयोग पु¥याउने उनको भनाइ थियो ।
मेलामा स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री हुनेछ भने स्थानीय कलाकारको साङ्गितिक प्रस्तुतीसमेत रहने बताइएको छ । हरेक दिन बिहान १० बजेदेखि सुरु हुने मेला साँझ ७ बजेसम्म सञ्चालन हुने उपमहानगरपालिकाले जनाएको छ ।








