भीमफेदीमा ६४ सवारी चालकको लागुऔषध परीक्षण, ५ जनामा पोजेटिभ

पालिका डायरी
२२ आश्विन २०८३, १८:५१
भीमफेदीमा ६४ सवारी चालकको लागुऔषध परीक्षण, ५ जनामा पोजेटिभ Ai Photo

मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना तथा क्षति न्यूनीकरण गर्ने उद्देश्यले गरिएको स्वास्थ्य परीक्षण तथा लागुऔषध सेवन (ला.प.से.) जाँचका क्रममा पाँच जना चालकमा लागुऔषधको परीक्षण पोजेटिभ देखिएको छ।

बिहीबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म भीमफेदी गाउँपालिका–६ स्थित चेकपोस्टमा संयुक्त रूपमा गरिएको परीक्षणमा ६४ जना सवारी चालकको स्वास्थ्य परीक्षण तथा ला.प.से. जाँच गरिएको थियो।

जिल्ला जनस्वास्थ्य कार्यालय हेटौँडा, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय भीमफेदी र भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रको संयुक्त आयोजनामा परीक्षण गरिएको हो। परीक्षणका क्रममा पाँच जना सवारी चालकको ला.प.से. परीक्षण पोजेटिभ देखिएपछि सम्बन्धित सवारीसाधनलाई इलाका प्रहरी कार्यालय भीमफेदीमा राखिएको प्रहरीले जनाएको छ।

पोजेटिभ देखिएका चालकहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको बताइएको छ।

प्रतिक्रिया