ओलीलाई मात्रै दोष दिएर एमालेको संकट समाधान हुँदैन : मोक्तान

पालिका डायरी
६ आश्विन २०८३, १५:०४

हेटौंडा /  नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस पेचिलो बन्दै गइरहेका बेला एमाले मकवानपुरका युवा नेता तथा हेटौंडा उपमहानगरपालिका–१५ का वडा अध्यक्ष सुनिल मोक्तानले नेतृत्वको जवाफदेहिता सामूहिक हुनुपर्ने बताएका छन्।

मोक्तानले पार्टीको वर्तमान अवस्थाको सम्पूर्ण दोष अध्यक्ष केपी शर्मा ओलीमाथि मात्र थोपरेर समस्या समाधान नहुने धारणा राखेका हुन्। पटक–पटक पदाधिकारीको जिम्मेवारीमा रहेर पार्टी सञ्चालनमा भूमिका निर्वाह गरेका सबै नेतृत्वले आफ्नो जिम्मेवारी र जवाफदेहिता स्वीकार गर्नुपर्ने उनको भनाइ छ।

उनले भने, “नेतृत्व परिवर्तनको विषय पेचिलो बन्दै जाँदा प्रश्न केवल केपी ओलीमा सीमित हुनु हुँदैन। पटक–पटक पदाधिकारीको जिम्मेवारीमा रहेर पार्टी सञ्चालनमा भूमिका निर्वाह गरेका सबै नेतृत्वले पनि आफ्नो जिम्मेवारी र जवाफदेहिता स्वीकार गर्नुपर्छ।”

एक जना व्यक्तिलाई मात्र दोषी देखाएर पार्टीभित्र देखिएका समस्याबाट उम्किन खोज्नु समाधान नभएको उल्लेख गर्दै मोक्तानले अहिलेको अवस्थाको जिम्मेवारी सामूहिक रूपमा सबै पदाधिकारी र नेतृत्व तहले लिनुपर्ने बताए।

उनका अनुसार अब एमालेभित्र दोषारोपणभन्दा पनि पुस्तान्तरणको बहसलाई व्यवहारमा लैजानुपर्ने आवश्यकता छ। अनुभव बोकेका नेताहरूको योगदानलाई सम्मान गर्दै नेतृत्वको जिम्मेवारी क्रमशः दोस्रो पुस्तामा हस्तान्तरण गर्नुपर्ने उनको धारणा छ।

“अब समय दोषारोपणको होइन, पुस्तान्तरणको हो। अनुभवलाई सम्मान गर्दै नेतृत्वको जिम्मेवारी क्रमशः दोस्रो पुस्तामा हस्तान्तरण गर्दै नयाँ सोच, नयाँ ऊर्जा र नयाँ पुस्तालाई अवसर दिनु आवश्यक छ,” मोक्तानले भने।

उनले नेतृत्वमा व्यक्ति परिवर्तन मात्रै पर्याप्त नहुने भन्दै पार्टीको नेतृत्व संस्कार, कार्यशैली र निर्णय प्रक्रियामै परिवर्तन आवश्यक रहेको बताए।

एमालेभित्र चुनावी परिणाम र त्यसपछि नेतृत्वको भूमिकालाई लिएर बहस चर्किरहेका बेला मोक्तानको यस्तो धारणा आएको हो। पछिल्लो समय एमालेमा नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको विषयलाई लिएर नेताहरूबीच मतभेद सार्वजनिक हुँदै आएका छन्।

प्रतिक्रिया