त्रिपुरेश्वरमा बससँगै जलेका चालकको खुल्यो परिचय
त्रिपुरेश्वरमा सोमबार बसमा आगो लगाउँदा मृत्यु भएका बसका चालक मकवानपुरका भएको खुलेको छ।
काठमाडौँको त्रिपुरेश्वरमा सोमबार आफैँले बसमा आगो लगाउँदा मृत्यु भएका बस चालक मकवानपुर इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीका अर्जनु दोङ भएको पुष्टी भएको हो। इन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा ब्लोनका अनुसार बसमा आगो लगाउँदा ज्यान गुमाउने युवक सिस्नेरीका २५ वर्षीय अर्जुन दोङ हुन्।
इन्द्रसरोवर गाउँपालिका स्थायी घर भएका अर्जुनले काठमाडौँमै बस चलाएर परिवार पाल्दै आएका थिए। उपाध्यक्ष ब्लोनले बताएअनुसार अर्जुनले आगो लगाएको बस भने उनको होइन।
‘यता सामान्य परिवारमा हुर्किएको मान्छे हो। बस किनेको रैनछ,’ ब्लोनले नेपालखबरसँग भनिन्, ‘अरुको बस चलाएका रैछन्। अहिलेसम्मको डकुमेन्टहरू खोज्दा नागरिकता पनि बनेको प्रमाण भेटेका छैनौँ। आफन्तहरू शव बुझ्न अस्पताल जाँदै हुनुहुन्छ।’
सोही वडाका वडाध्यक्ष प्रताप भ्लोनका अनुसार उनले अरुको लाइसेन्स प्रयोग गरेर सवारी चलाउँदै आएको अर्जुनको परिवारले बताए छन्। वडाबाट नागरिकताको लागि सिफारिस लिएको प्रमाण नभेटिएपछि जन्मदर्ता लिएर खोजीका लागि आफू सहित अर्जुनका दाजु जनक र अन्य परिवार सदस्यहरु काठमाडौँ हिँडेको उनले बताए। उनका अनुसार अर्जुनको श्रीमती र ५ वर्षको एक छोरा छन्।
सोमबार दिउँसो साढे १२ बजेतिर त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाने बस स्टेन्डमा रोकिराखेको रिद्धिसिद्धि यातायातको बां५ ख ४२७४ नम्बरको बसमा आगोलागी भएको थियो।


