तीजले विभेद अन्त्य गर्दै सामाजिक सद्भाव र एकताको सन्देश फैलाओस् : मुख्यमन्त्री थापा

पालिका डायरी
२९ भाद्र २०८३, ०७:४३
बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत अब भोलि लिने

हेटौँडा /  बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले हरितालिका (तीज) पर्वले नेपाली समाजमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र एकताको भावना थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

हरितालिका तीज २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री थापा मगरले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र पारिवारिक खुसीको शुभकामना व्यक्त गरेका हुन् ।

उनले तीज नेपाली महिलाहरूले सनातन सांस्कृतिक पर्वका रूपमा मनाउँदै आएको उल्लेख गर्दै यस पर्वले धार्मिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन् ।

भाद्र शुक्ल पक्ष तृतीयाका दिन मनाइने तीजमा महिलाहरूले भगवान् शिव–पार्वतीको पूजा–आराधना गर्दै आफ्नो सौभाग्य, परिवारको सुख, सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने परम्परा रहेको मुख्यमन्त्रीको सन्देशमा उल्लेख छ ।

मुख्यमन्त्री थापा मगरले तीजजस्ता सांस्कृतिक पर्वले नेपाली समाजमा विविधताबीच एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

उनले तीजको मौलिकता कायम राख्दै संस्कृति संरक्षण, संस्कारयुक्त वातावरण निर्माण तथा सदाचारपूर्ण जीवनशैली अपनाउन पर्वहरूको गरिमालाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।

यस्ता पर्वले नेपालीहरूलाई एकताको सूत्रमा आबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्नुका साथै एकआपसमा खुसी साटासाट र मनोरञ्जन गर्ने अवसरसमेत प्रदान गरेका छन्, मुख्यमन्त्री थापा मगरको शुभकामना सन्देशमा भनिएको छ ।

साथै, उनले तीज पर्वले नेपाली समाजमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय लगायतका सबै प्रकारका असमानता अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप बढाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

मुख्यमन्त्री थापा मगरले विभेदरहित, समतामूलक समाज निर्माणका लागि सबैलाई प्रेरित गरोस् भन्ने शुभेच्छासहित सम्पूर्ण नेपाली महिलाहरूमा हरितालिका तीजको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया