निर्माण व्यवसायी संघ मकवानपुरको कोषाध्यक्षमा प्रकाश लामाको उम्मेदवारी
हेटौँडा । निर्माण व्यवसायी संघ, मकवानपुरको आज हुने अधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदै छ। नयाँ नेतृत्व चयनका लागि कोषाध्यक्ष पदमा निर्माण व्यवसायी प्रकाश लामाले उम्मेदवारी घोषणा गरेका छन्।
पञ्चकन्या कन्स्ट्रक्सनका सञ्चालकसमेत रहेका लामाले निर्माण व्यवसायीहरूको हकहित, सुरक्षा र अधिकार संरक्षणसँगै संघको आर्थिक व्यवस्थापनलाई पारदर्शी, जिम्मेवार र प्रभावकारी बनाउने प्रतिबद्धतासहित आफ्नो उम्मेदवारी दिएका हुन्।
लामाले संघलाई व्यवसायीहरूको साझा संस्था र समस्याको समाधान खोज्ने प्रभावकारी माध्यमका रूपमा थप सुदृढ बनाउने लक्ष्य अघि सारेका छन्। निर्माण व्यवसाय क्षेत्रमा देखिएका समस्या, व्यवसायीहरूले भोग्दै आएका चुनौती तथा पेशागत सुरक्षाका विषयमा संघमार्फत प्रभावकारी पहल गर्ने उनको भनाइ छ।
‘अनुभव, इमानदारी र सहकार्य’ भन्ने नारासहित मैदानमा उत्रिएका लामाले संघको कोष व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउँदै प्रत्येक सदस्यको हितलाई प्राथमिकतामा राख्ने बताएका छन्।
निर्माण व्यवसायीहरूबीच एकता, सहकार्य र आपसी समन्वय बढाएर संघलाई थप बलियो बनाउनु आफ्नो मुख्य उद्देश्य रहेको लामाले बताए। निर्माण व्यवसायको विकास र विस्तारका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय तथा सहकार्य गर्दै व्यवसायीमैत्री वातावरण निर्माण गर्न आफू सक्रिय रहने उनको प्रतिबद्धता छ।
लामाले आफ्नो व्यावसायिक अनुभवलाई संघको संस्थागत विकासमा उपयोग गर्दै निर्माण व्यवसायीका साझा सवाललाई प्राथमिकताका साथ उठाउने बताएका छन्। उनले आज हुने अधिवेशनमा सम्पूर्ण निर्माण व्यवसायी मतदातासँग आफूलाई कोषाध्यक्ष पदमा विजयी गराउन सहयोग र समर्थनका लागि अपिलसमेत गरेका छन्।
निर्माण व्यवसायी संघ, मकवानपुरको अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले लामाको उम्मेदवारीसँगै कोषाध्यक्ष पदको प्रतिस्पर्धा पनि थप रोचक बनेको छ।



