अटो दुर्घटनालगत्तै आगलागी, आमाछोरीको मृत्यु

पालिका डायरी
२७ भाद्र २०८३, १७:१६
अटो दुर्घटनालगत्तै आगलागी, आमाछोरीको मृत्यु

इलामको फाकफोकथुम गाउँपालिका–६ हाङ्गासुलीमा भएको अटो दुर्घटना र आगलागीमा परी आमा–छोरीको मृत्यु भएको छ।

शनिबार ​मंगलबारेबाट हांगासुलीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००३ ह ६९६७ नम्बरको अटो पोखरी–कमेरेको भित्री कच्ची सडक खण्डमा अनियन्त्रित भई डिलबाट तल खसेर दुर्घटनामा परेको थियो। दुर्घटनालगत्तै अटोमा राखिएको जर्किनबाट पेट्रोल लिक भई आगलागी भएको थियो।

दुर्घटनामा इलाम नगरपालिका–७, तिल्केनीकी ३७ वर्षीया कविता श्रेष्ठ र आठ वर्षीया खुसिका श्रेष्ठको झापास्थित बीएनसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। खुसिका कविताकी छोरी हुन्। कविता छोरीलाई लिएर हांगासुलीस्थित माइती घरतर्फ जाँदै थिइन्।

दुर्घटनालगत्तै अटोको पेट्रोल लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ। आगोले जलेर गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि बीएनसी अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो।  ​दुर्घटनामा परी अटो चालक फाकफोकथुम–६ पोखरी बजार बस्ने ३५ वर्षीय लोकबहादुर श्रेष्ठ घाइते भएका छन्। उनको शरीरका विभिन्न भाग जलेका छन्। उनको बीएनसी अस्पतालमै उपचार भइरहेको छ।

​त्यस्तै, फाकफोकथुम–६ हाङ्मासुली बस्ने २७ वर्षीया मन्दिरा थापा, देउमाई नगरपालिका–४ मङ्गलबारे घर भएकी २२ वर्षीया दुर्गादेवी श्रेष्ठ र झापाको कन्काई नगरपालिका माईधार घर भएकी ४० वर्षीया रमाकुमारी श्रेष्ठ पनि घाइते भएका छन्। मन्दिराको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ।

प्रतिक्रिया