सबै भ्रम चिर्छौं, पार्टी बलियो बनाउँछौं : एमाले नेता सिग्देल
नेकपा एमालेलाई पुनर्जागरण तथा पुनर्गठनद्वारा राष्ट्रिय निर्णायक शक्तिका रूपमा पुनःस्थापित गर्ने नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले बताउनुभएको छ।
आज नेकपा एमाले गढी गाउँपालिका कमिटीद्वारा आयोजित ‘मिसन पार्टी जागरण–२०८३’ को अभिमुखीकरण कार्यक्रममा उहाँले भन्नुभयो, “पार्टीप्रति लगाइएका सबै भ्रमलाई चिर्ने, कार्यकर्ता र जनतामा देखापरेको निराशा अन्त्य गर्ने र पहिलो शक्तिका रूपमा एमालेलाई स्थापित गरिनेछ।”
बालेन सरकारप्रतिका जनताको मोहभंग हुँदै गइरहेको तथा संकट र विपत्तिमा नेकपा एमालेलाई जनताले खोजिरहेको उहाँले दाबी गर्नुभयो। मकवानपुरगढी गाउँपालिकाको ‘मिसन पार्टी जागरण–२०८३’ का केन्द्रीय प्रतिनिधिसमेत रहनुभएका सिग्देलले मिसन जागरण अभियान वडा, कार्यकर्ता र जनता केन्द्रित हुने बताउनुभयो।
प्रदेश कमिटीका सदस्य रामचन्द्र राईले जनतासँगको सम्बन्धलाई सुदृढ बनाउन हरेक कार्यकर्ता जनताका समस्यासँग जोडिनुपर्ने बताउनुभयो। सबै तहका नेता र कमिटीले भएका कमी–कमजोरी सच्याएर भनाइ र गराइमा एकरूपता हुनुपर्ने उहाँले बताउनुभयो।
वर्तमान सरकारका मन्त्रीहरूबाट जनताले कुनै अपेक्षा नरहेको बताउँदै सरकार गैरजिम्मेवार बन्दै गइरहेको उहाँको भनाइ थियो। एउटा कम्युनिस्ट पार्टीको लक्ष्य निर्वाचन जित्नु मात्र नभएर सामाजिक रूपान्तरण ध्येय रहेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “विकास गतिशील प्रक्रिया हो, जनअपेक्षा बढ्दो छ। नेकपा एमालेको नेतृत्वमा मात्र जनअपेक्षा सम्बोधन हुन सक्नेछ।”
नेकपा एमाले मकवानपुर जिल्ला कार्यवाहक अध्यक्ष हिदम लामाले भूराजनीतिको प्रभाव नेपाली राजनीतिमा विगतदेखि नै रहेको र अहिले ठाडो हस्तक्षेपले समस्या उत्पन्न भएको बताउनुभयो।
आज जेठ २४ गते नेपालको इतिहासमा कालो दिन भएको उल्लेख गर्दै उहाँले राष्ट्रिय सम्पदा, सरकारी र व्यक्तिगत सम्पत्ति जलाउनु ‘जेन्जी’को माग नभएको तथा ‘जेन्जी आन्दोलन’को खोलमा देश जलाउने कार्य भएको बताउनुभयो।
उहाँले राष्ट्रियता, लोकतन्त्र, संविधानको रक्षा, विकास र समृद्धिका लागि नेकपा एमालेको विकल्प नरहेको बताउँदै बालेन्द्रको छ महिने सरकार सञ्चालनमा देखिएको असक्षमताले नै त्यसलाई प्रमाणित गरेको दाबी गर्नुभयो।
अभिमुखीकरणमा पार्टी सदस्यता नवीकरण र विस्तार, वडास्तरीय पार्टी सदस्य भेला, पार्टीका वडा तथा टोल कमिटी पुनर्गठन, जनसंगठन पालिका संयन्त्र भेला, चाडपर्वको अवसरमा शुभकामना तथा चियापानलगायत विभिन्न कार्यक्रम तय गरिएको पालिका कमिटी सचिव रोमणाथ रेग्मीले बताउनुभयो।
पालिका कमिटीका अध्यक्ष जीतबहादुर घिमिरेको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य विदुर हुँमागाईं, कमिटीका उपसचिव अम्बिका अधिकारीले मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा प्रदेश कमिटी सदस्य निर्मला देवकोटा, जिल्ला सचिवालय सदस्य मेम्बर लोलगायतको उपस्थिति रहेको थियो।



