मकवानपुरगढीमा एमालेको ‘मिशन पार्टी जागरण’ अभिमुखीकरण, पार्टी सशक्तीकरणमा जोड

राम कुमार दानी
२४ भाद्र २०८३, १७:२५

हेटौंडा / नेकपा (एमाले) को पालिकास्तरीय ‘मिशन पार्टी जागरण’ अभियानअन्तर्गत अभिमुखीकरण कार्यक्रम मकवानपुरगढी गाउँपालिका–स्थित मक्रान्चुलीमा रहेको मनकामना हलमा भव्य रूपमा सम्पन्न भएको छ।

नेकपा (एमाले) मकवानपुरगढी गाउँपालिका कमिटीको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिका क्षेत्रभित्र रहेका पार्टीका जिल्ला कमिटी सदस्य, पालिका कमिटीका पदाधिकारी तथा सदस्य, वडा तहका पदाधिकारी, जनसंगठनका नेतृत्व तथा विभिन्न जिम्मेवारीमा रहेका पार्टीका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा केन्द्रीय ‘मिशन पार्टी जागरण’ अभियानअन्तर्गत मकवानपुरगढी संयोजक नवीन सिग्देलले अभियानको उद्देश्य, आवश्यकता तथा पार्टी संगठनलाई थप प्रभावकारी र जनमुखी बनाउने विषयमा अभिमुखीकरण गरेका थिए।

अभिमुखीकरण कार्यक्रममा नेकपा (एमाले) बागमती प्रदेश कमिटी सदस्य तथा पूर्व राष्ट्रियसभा सदस्य रामचन्द्र राई, नेकपा (एमाले) मकवानपुर जिल्ला कमिटीका अध्यक्ष हिदम लामा, जिल्ला सचिवालय सदस्य विदुर हुमागाईंलगायतका नेताहरूले समसामयिक राजनीतिक विषयवस्तुमा केन्द्रित हुँदै मन्तव्य व्यक्त गरेका थिए।

वक्ताहरूले ‘मिशन पार्टी जागरण’ अभियानलाई केवल संगठनात्मक कार्यक्रमका रूपमा मात्र नलिई जनतासँग पार्टीको सम्बन्ध थप मजबुत बनाउने अभियानका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले पार्टीका नीति, विचार र कार्यक्रमलाई प्रभावकारी रूपमा जनस्तरसम्म पुर्‍याउँदै संगठनलाई थप सशक्त, व्यवस्थित र गतिशील बनाउन अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रमका वक्ताहरूले वर्तमान राजनीतिक परिस्थितिमा पार्टी कार्यकर्ता तथा जिम्मेवार नेतृत्व थप सक्रिय, सचेत र जनताप्रति उत्तरदायी हुनुपर्ने आवश्यकता औँल्याउँदै पार्टी सुदृढीकरणका लागि गाउँ–टोलस्तरसम्म जागरण अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए।

नेकपा (एमाले) मकवानपुरगढी गाउँपालिका कमिटीका अध्यक्ष जितबहादुर घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पालिका कमिटीका सचिव रोमनाथ रेग्मीले गरेका थिए। कार्यक्रममा पालिका कमिटीका उपसचिव अम्बिका अधिकारीले सहभागी सम्पूर्ण नेता तथा कार्यकर्तालाई स्वागत गरेकी थिइन्।

कार्यक्रमले पार्टीको संगठनात्मक गतिविधिलाई थप व्यवस्थित बनाउँदै स्थानीय तहसम्म पार्टीको नीति, विचार र अभियानलाई प्रभावकारी रूपमा विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया