बाढी प्रभावितलाई मनहरीको १० लाख सहयोग

पालिका डायरी
१४ भाद्र २०८३, १६:१६
मनहरी गाउँपालिकाको प्राथमिक तहका सबै प्रधानाध्याकहरूले दिए राजीनामा

मकवानपुरको मनहरी गाउँपालिकाले रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

भदौ १० गते रसुवास्थित भोटेकोसीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले मनहरी गाउँपालिकाले आइतबार आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।

आइतबार बसेको गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले पालिकाको विपद् व्यवस्थापन कोषबाट १० लाख रुपैयाँ प्रधानमन्त्री विपद् सहायता कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।

यस्तै, बाढीपीडितको सहयोगका लागि गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले तीन महिनाको सेवा सुविधा बराबरको सहयोग उपलब्ध गराउने भएका छन्। गाउँपालिकाका अन्य जनप्रतिनिधिले समेत एक महिनाको सेवा सुविधा बराबरको सहयोग गर्ने निर्णय भएको जनाइएको छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय मकवानपुरको पत्रअनुसार आवश्यक उद्धार सामग्रीसमेत गाउँपालिकाले सुपारेटार ब्यारेकलाई हस्तान्तरण गरेको छ। बाढी प्रभावित क्षेत्रमा आवश्यक खाद्यान्न तथा जिन्सी सामग्री संकलन गरी पठाउन गाउँपालिकाले पालिकाभित्र रहेका उद्योग वाणिज्य संघ, मध्यवर्ती क्षेत्र समिति, सामुदायिक वन उपभोक्ता समिति तथा विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्था र आम नागरिकलाई अपिल गरेको छ।

राहत सामग्री संकलन तथा व्यवस्थापनका लागि सम्बन्धित वडाका वडाध्यक्षसँगै गाउँपालिकाका सम्पर्क व्यक्ति ज्ञानेन्द्र ढकाल र नगर प्रहरी प्रमुख मेनराज घलानलाई जिम्मेवारी तोकिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

प्रतिक्रिया